काठमाडौँ । भारतमा कोरोना कहरले बलिवुड उद्योगलाई धारासायी बनाउने संकेत देखिएको छ । करिब एक बर्षदेखि सिनेमा हलमा दर्शक जानसक्ने अवस्था नभएपछि परम्परागत रुपमा स्थापित भएका फिल्म निर्माण कम्पनिलाई ओटीटी प्लेटफर्मले विस्थापित गर्ने संकेत देखिएको छ ।
बलिवुडका स्थापित फिल्म निर्माण गर्ने ब्यानर यशराज फिल्म्स, धर्मा प्रोडक्सनबाट सुपरस्टार अभिनेताहरुले ओटीटी प्लेटफर्ममा आफुलाई केन्द्रित गर्न थालेका छन् ।
सिनेमा निर्माण गर्ने र वितरणमा समेत लगभग सिण्डिकेट चलाएर सुपर स्टार अभिनेता अभिनेत्रीको नाम बेचेर एउटै फिल्मबाट करोडौ कमाउदै आएका फिल्म ब्यानर कम्पनिहरुलाई अब अभिनेताले विस्तारै छोडिरहेको देखिएको छ ।
केहि समय अघि यस्तै विवाद हुदा अभिनेता कार्तिक आर्यन धर्मा प्रोडक्सनका फिल्मबाट निकालिएको चर्चा चलेको थियो । अहिले फिल्म निर्माण गरेपनि हलमा रिलिज गर्ने अवस्था भारतमा नरहेको हुदा ठुला बजेका कैयौं फिल्म थन्किएर बसेका छन् भने निर्माण सम्झौता भएका कैयौं फिल्मको शुटिंग शुरु हुने वातावारण देखिएको छैन ।
यसैबीच अभिनेता शाहिद कपुरले पनि ओटीटी प्लेटफर्म नेटफ्लिक्ससँग काम गर्ने गरि अगाडी बढेको रिपोर्ट बाहिर आएको छ । उनले धर्मा प्रोडक्सन र यशराज फिल्म्सका कैयौं फिल्म गर्ने सम्झौता गरेपनि ति फिल्म बन्न अनिश्चित भएपछि ओटीटी प्लेटफर्म तर्फ आफुलाई केन्द्रित गरेका हुन् । फिल्म कबीर सिंहपछि मार्केट भ्यालु निकै बढेका अभिनेता शाहिदले नेटफ्लिक्ससँग करोडौको सम्झौता गर्न लागेको बताइएको छ । उनले आफ्नो कम्पनि खोलेर नै नेटफ्लिक्ससँग सहमति गर्न लागेको बताइएको छ । शाहिदको प्राइम भिडियोमा पनि छिट्टै एक वेभ सिरिज आउन लागेको छ ।
कोरोनाकालमा मनोरंजन क्षेत्रमा सबैभन्दा बढी कमाई गर्ने ओटीटी प्लेटफर्म रहेका छन् । उदाहरणको लागि अमेजन प्राइम भिडियोले सन २०१९ मा ८६८ अर्ब भारतीय रुपैयाको आम्दानी गरेको थियो भने २०२० मा यो बढेर १५९४ अर्ब पुगेको थियो । त्यस्तै अमेजनले २०२० मा ओटीटीकन्टेन्टका लागि ८२३ अर्ब रुपैया खर्च गरेको थियो ।
त्यस्तै नेटफ्लिक्सले २०२०मा ओटीटी कन्टेन्टका लागि ८८३ अर्ब खर्च गर्यो भने यस अघि २०१९ मा १०४० अर्ब खर्च गरेको थियो ।









