काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्डस आज भिड्दै छन् । घरेलु मैदानमा नेपालले पहिलो पटक खेलिरहेको त्रिकोणात्मक सिरिजको फाइनल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ ।
सिरिजमा नेपालले नेदरल्याण्डस विरुद्धको दोस्रो खेलमा हार बेहोरेको बाहेक अन्य तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । हारेको खेलमा पनि बलरको आत्मविश्वास डगमगाउदा नेपाल हारेको थियो । २०७ रनको लक्ष्य दिएर उत्कृष्ट मानिएको नेपालको बलिङले सो रन डिफेन्ड गर्न नसक्दा ३ वविकेटको हार बेहोर्नु परेको थियो ।
त्यो बाहेक नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले र आफ्नो दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले पराजित गरेको थियो । त्यस्तै मलेसियाविरुद्धको खेल ६९ रनको फराकिलो अन्तरले जितेको थियो । नेपालको चार वटै खेलमा यस पटक फरक ब्याटिंग जबर्जस्त देखियो ।
यस अघिका प्रतियोगितामा नेपालले धेरै जसो खेल बलिङको भरमा जितेको देखिन्थ्यो । यदाकदा चल्ने ब्याटिंग यस पटक मिडल अर्डरले त धेरै ब्याटिंग नै गर्नु परेन । चार खेलमा एक पटक पनि अलआउट हुनुपर्ने अवस्था नआउनु आफैमा सुखद देखिएको छ । ब्याटिंग कुशल भुर्तेलले आफ्नो डेभ्यु सिरिज सम्झन लायक बनाएका छन् । ४ खेलमा ३ अर्धशतकसहित किर्तिमान बनाएका भुर्तेलले सिरिजमा २०१ रन बनाएका छन् । उनी सिरिजमा धेरै रन बनाउने खेलाडी पनि हुन् ।
त्यस्तै डेभ्यु सिरिज नै खेलिरहेका आसिफ सेखले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । आसिफले एक अर्धशतकसहित १३८ रन बनाएका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरी र कप्तान ज्ञानेन्द्र मल्लले पनि ब्याटिंगमा पाएको कम अवसरको सदुपयोग नै गरेको देखिन्छ । पूर्व कप्तान पारस खड्का नखेलेको यस सिरिजमा युवा खेलाडीहरुले अहिलेसम्म उनको कमि भने महसुस गराएका छैनन् ।
तर बलियो मानिएको नेपालको बलिङले भने यस सिरिजमा अलिकति चिन्ता बढाएको छ । सन्दीप लामिछानेले विकेट त दिलाएका छन् तर उनी धेरै महँगो साबित भएका छन् । उनले ४ खेलमा ११ विकेट लिएर सिरिजमा सर्बाधिक विकेट त लिएका छन् तर उनको इकोनोमी ८.६५ रहेको छ । जबकी उनको टी-२० खेलमा इकोनोमी औसत ७ भन्दा तल रहेको छ ।
पछिल्लो खेलमा सोमपाल कामी लयमा फर्किएको देखिएको छ । उनले २० रन दिएर ३ विकेट लिए । यो भने नेपालका लागि खुशीको कुरा भएको छ । त्यस्तै डेभ्यु खेलमै उत्कृष्ट बलिङ गरेर कमल सिंह ऐरीले फाइनल खेलमा आफ्नो कडा दाबेदारी प्रस्तुत गरेका छन् ।
त्यस्तै नेदरल्याण्डसले सिरिजमा ४ खेलमा २ जित एक हार र एक बराबरी खेलेर फाइनलमा नेपाललाई चुनौती दिने तयारीमा रहेको छ । आइसीसीको टी-२० वरियतामा नेपाल अहिले १५औ स्थानमा रहेको छ भने नेदरल्यान्ड्स १७औ स्थानमा रहेको छ ।
नेदरल्यान्ड्सले नेपालसँगको दोस्रो खेलमा २०७ रनको लक्ष्य चेज गरेर नेपाललाई झस्काएको मात्र छैन फाइनलमा कडा चुनौती दिने सनेक्त गरेको छ । नेपालले नेदरल्यान्ड्सविरुद्ध आफ्नो बलिङलाई अनुशासित बनाउनुपर्ने जरुरी देखिन्छ । नेदरल्यान्ड्सका बेन कुपर, म्याक्स ओ'डुड, बास डी लीड जस्ता ब्याट्सम्यानलाई रोक्न सके मात्र नेपालको जित सुनिस्चित हुने देखिन्छ । सिरिजमा डुडले १३३ रनको शतकीय पारि समेत खेलेका छन् भने बेन कूपरले दुई अर्धशतकसहित १२९ रन बनाएका छन् ।
यसरी निष्कर्षमा फाइनल खेलमा नेपालको समग्र प्रदर्शन राम्रो देखिएपनि नेदरल्यान्ड्सले कडा टक्कर दिने निश्चित छ । कुशल र आसिफको फर्मलाई सन्दीपको अनुशासितले बलिङले सपोर्ट गरेमा मात्र नेपालले सिरिजको उपाधि जित्ने देखिन्छ ।









