• २०८१ बैशाख २२ शनिबार

सिद्धार्थ आर्ट ग्यालरीमा सम्पदा कला

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौं । सम्पदा र संस्कृतिका विविध विषय समेटिएका कलाकृतिको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा बबरमहलमा चलिरहेको छ । ‘साइकल्स अफ इम्पेर्मेन्स’ शीर्षकमा युवा कलाकार कविराज लामाले तयार पारेका प्रिन्टमेकिङ प्रदर्शनीमा इतिहास उतारिएको छ । प्रदर्शित कलाकृतिमा समाजमा बिर्सनै नसकिने प्राकृतिक विपद्को घटना र उत्तरदायित्वलाई सचेततापूर्वक प्रस्तुत गरिएको छ ।

कलाकार लामाले समकालीन परिदृश्यमा भइरहेका विविध परिघटनाको सांस्कृतिक, बौद्धिक तथा सिर्जनात्मक अभिलेख कलामार्फत प्रस्तुत गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसको पराकम्पले पारेको सामाजिक, सांस्कृतिक तथा मानवीय क्षतिको स्मरणलाई लामाले कलामार्फत प्रस्तुत गरेको बताए । उनले लामो समयसम्म यसको प्रभाव रहिरहने भएकाले कलामार्फत अभिलेख राख्ने कोसिस गरेको जिकिर गरे ।

उनले भने, “भूकम्प र त्यसले समाज र सम्पदामा पारेको प्रभाव अर्थात् क्षतिलाई कलामा उतारेर इतिहासको एक प्राकृतिक विपद्लाई अभिलेखीकरण गर्ने जमर्को गरेको छु ।” लामाले छापाचित्रण अर्थात् प्रिन्टमेकिङ मार्फत नेपालीलाई झस्काइरहने/सम्झाइरहने भूकम्प र त्यसले पारेको त्रासदीपूर्ण क्षतिलाई चित्रण गरेको सुनाए ।

उनले भने, “सांस्कृतिक सम्पदा मानिसका मौलिकताका प्रतीक हुन् । तिनको महत्वलाई विश्वमै चिनाउने कोशिश कलाकृति रचना गरेर गरिएको छ । हाम्रा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका रुपमा काठमाडौं उपत्यकामा रहेका ऐतिहासिक धरोहरको संरक्षण तथा प्रवद्र्धनमा सबै नागरिक तथा राज्यको उत्तिकै दायित्व रहन्छ । सम्पदा सबै मानिसको साझा सम्पत्ति भएकाले तिनको संरक्षणप्रति हामी जागरुक बन्न सकौँ भन्ने अभिप्रायले मैले कलाकृति रचना गरी प्रदर्शनी गरेको हुँ ।” 

कलाकार लामाले भूकम्पले काठमाडौँ उपत्यकामा रहेका मठमन्दिर तथा विश्वसम्पदामा सूचीकृत सम्पदामाथि पुगेको क्षति, भग्नावशेष रूप तथा पुनःनिर्माणको चरण समेटी तयार पारिएका कलाकृति प्रदर्शनीमा राखेको बताए । त्यसैगरी केही कलामा ग्रामीण परिवेशका विषयलाई समेटिएको उनले जानकारी दिए । 

कलाकार लामाले भने, “गोर्खा भूकम्पपश्चात् सम्पदामाथि पुगेको क्षति देखेपछि त्यसबारे अध्ययन, अनुसन्धान तथा अवलोकन गरेँ । त्यसपछि चार वर्ष लगाएर सिर्जना गरेका कलाकृति प्रदर्शनीमा राखेँको हुँ जसमा समकालीन परिदृश्य र सम्पदाको अवस्थालाई देखाउने कोशिश गरिएको छ ।” 

प्रदर्शनीमा राखिएका कलाकृति इचिङ, लिथोग्राफी र उडकटबाट तयार पारिएका छन् । तिनमा भूकम्पका कारण भग्नावशेष अवस्थामा पुगेका सम्पदा र तिनको पुनःनिर्माणको अवस्थालाई देखाइएको छ । नेपालमा प्रिन्टमेकिङ विधामा स्थापित कलाकार लामाले प्रदर्शनीमा राखिएका कला प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिको इतिहास रहेको विचार व्यक्त गरे ।

उनले भूकम्प लगायत विपद्को विषयलाई कलाकार हुनुको नाताले कलाकृतिमार्फत प्रस्तुत गरेको जनाए । उनले भने, “आपत्कालीन समयलाई चित्रण गर्ने हामीसँग तस्बिर प्रमाणका रूपमा रहेका छन्, तैपनि मैले ती बिग्रेका र भत्केका सम्पदालाई कला मार्फत अभिलेख गर्ने जमर्को गरेको हुँ ।” लामाले भग्नावशेस अवस्थामा रहेका ऐतिहासिक सम्पदाको अवस्था लथालिङ्ग देख्दा मन अमिलो भएको सुनाए । उनले ऐतिहासिक सम्पदाको भग्नावशेस देख्दा निकै नरमाइलो लागेकाले कलामार्फत तिनको अवस्थालाई देखाउने प्रयत्न गरेको जिकिर गरे ।

उनले भने, “बन्दै गरेका संरचनामा प्रयोग गरिएको शैलीले हामीलाई हाम्रो मौलिकताबाट टाढा लगेजस्तो लाग्यो र मैले कलामार्फत सम्पदालाई चिनाउने र जोगाउने सोच राखी यी कलाकृति रचेँ ।” काठमाडौँ उपत्यकाका वसन्तपुर, स्वयम्भू, बौद्धनाथ, पशुपति, पाटन दरबारक्षेत्र र भक्तपुर दरबारक्षेत्र लगायत स्थानमा पुगेँ र तिनलाई नजिकबाट नियाले । त्यसपश्चात् कलाकार लामाले तिनको महत्व र सांस्कृतिक आयामलाई कलामा उतार्न थाले । चार वर्षको अन्तरालमा उनले यिनै सम्पदाको विषयलाई क्यानभासमा उतार्दै गरे ।

प्रदर्शनीमा उनले पुनःनिर्माणका क्रममा स्वयम्भू, बौद्धनाथ, पाँचतले मन्दिरमा बाँस तथा फलामको खट लगाएर काम गरेका मानिस र तिनको लगावको विषयमा बनाइएका कलाकृति समेत राखेका छन् । उनले थपे, “मैले सम्पदा पुनःनिर्माणका क्रममा बाँस तथा फलामको खट बनाएर काम गरेको देखेँ । यो प्रक्रिया भोलिका पुस्ताले इतिहासको एउटा परिघटनाका रुपमा बुझ्न सकुन् भन्ने ध्येय राखेर कलामा तिनको अवस्था र परिदृश्यलाई देखाएको हुँ, यी कला भविष्यमा यो समयको प्रयोग र माध्यमलाई झल्काउने महत्वपूर्ण दस्तावेज पनि हुनसक्छन् ।” 

नेपाली प्रिन्टमेकिङ विधामा कविराजका कलाले समसामयिकपनलाई देखाउन सकेको नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले बताए । उनले भने, “प्रिन्टमेकिङको मर्म र त्यसको भावलाई गहिरो गरी बोध गरिएका कलामा सम्पदाको अवस्था र तिनको संरक्षणमा सम्बन्धित निकायलाई घच्घच्याउने सन्देश स्पष्ट पारिएको छ ।” 

उक्त प्रदर्शनीमा लामाले भूकम्पपछि सन् २०१८ मा सगरमाथा आधारशिविरमा तयार पारेका प्रिन्टकलासमेत राखेका छन् । आधारशिविरमा प्रिन्टमेकिङ कार्यशाला राखेर तयार पारिएका कला मार्फत उनले भूकम्पमा मृत्यु भएकाप्रति समर्पित गरेका छन् । ती कला नेपाली इतिहासका लागि निकै महत्व राख्ने खालका छन् । उच्च स्थानमा पहिलो पटक प्रिन्टमेकिङ विधामा काम गरिएकाले पनि ती कला विशेष रहन गएका हुन् । 

कलाले समयको आवाज बोल्नुपर्ने बताउँदै कविराजका कलामा त्यो पक्ष सबल रुपमा आएको सिद्धार्थ ग्यालरीका संस्थापक सङ्गीता थापाले बताइन् । उनले कला समयको आवाज भएको सुनाउँदै भनिन्, “कलाकारले त्यसलाई सापेक्षित ढङ्गले उतारेको पाइन्छ । कलाकार कविराजले पनि विनाशकारी भूकम्प र त्यसले पारेको प्रभावलाई निकै कलात्मक रुपमा कलामा उतारेको पाइन्छ ।” १९ फेब्रअरीदेखि शुरु भएको यो प्रदर्शनी २३ मार्चसम्म चल्ने ग्यालरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै