• २०८१ बैशाख १७ सोमबार

कर्णालीमा पहिलो चरणमा ८२ प्रतिशतले लगाए खोप

kharibot

कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरसविरुद्ध पहिलो चरणमा नौ हजार ४२० जना अर्थात् ८२ प्रतिशतले खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका अनुसार लक्षित समूहमध्ये कतिपय गर्भवती तथा स्तनपान गराइरहेका महिला, हिमाली जिल्लाबाट जाडो छल्न तराई झर्ने लगायत कारण सबैले खोप लगाउन नपाएका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णालीका लागि ११ हजार ७८० जनालाई पुग्ने खोप पठाएको थियो तर लक्षित गरिएका दुई हजारभन्दा बढी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाले खोप लगाएका छैनन् । पहिलो चरणमा छुटेकालाई दोस्रो चरणमा समावेश गर्ने निर्देशनालयको तयारी छ । 

प्रदेश स्वास्थ्य निर्देशक डा रवीन खड्काले पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म १२ वटा अस्पताललाई केन्द्र बनाएर लक्षित समूहलाई खोप लगाइएको बताए । सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको पहिलो पङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको थियो । खोप लगाएकामध्ये ३३ जनामा अवाञ्छित असर देखा परेको निर्देशक खड्काले जानकारी दिए । जुनसुकै खोप लगाउँदा सामान्य असर देखापर्ने हुँदा आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । तीमध्ये एकजना गम्भीर तथा ३२ जनामा सामान्य असर देखापरेको थियो ।

निर्देशनालयका अनुसार सुर्खेत दुई हजार ३४०, दैलेख एक हजार ८४३, जुम्ला एक हजार ४०, जाजरकोट ६७३, हुम्ला ४८५ र मुगुमा ४१७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै कालीकोट ८००, डोल्पा ३३०, रुकुम पश्चिम ८५० र सल्यानमा एक हजार दुईजनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । यो खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्दछ । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । 

विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएसँगै खोप लगाउन थालिएको हो । सङ्घीय सरकारले अब दोस्रो चरणमा ज्येष्ठ नागरिक, दीर्घरोगका बिरामी, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरु, शरणार्थी, कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, सञ्चारकर्मीलगायतलाई खोप लगाउने तयारी थालेको छ । कर्णाली प्रदेशमा पनि दोस्रो चरणमा खोप लगाउने व्यक्तिहरुको विवरण सङ्कलनको काम भइरहेको जनाइएको छ ।  

कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित सात हजार ५२८ मध्ये ३१ जनाको मृत्यु भएको छ । यहाँका विभिन्न प्रयोगशालामा गरी ९७ हजार २१० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । यसअघि प्रदेशका दुई स्थानमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । समुदायमा सङ्क्रमणको अवस्था यकिन गर्न अपनाइएको यस विधिबाट सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा करीब तीन हजार ५०० जनाको परीक्षण गरिएको थियो । तीमध्ये दुई प्रतिशतमा मात्र सङ्क्रमण देखिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै