Skip This
  • २०८१ असोज २ बुधबार

हुम्दे र खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ फेस्टिभल’

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौँ । पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले मनाङको हुम्दे र सोलुखुम्बुको खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ फेस्टिभल २०२१’ आयोजना हुने भएको छ ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आयोजना आगामी माघ १९ देखि २८ गतेसम्म हुम्देमा फेस्टिभल आयोजना गर्न लागिएको जानकारी दिइएको छ । त्यस्तै माघ ९ देखि १६ गतेसम्म थामे क्षेत्रमा पहिलोपटक ‘थामे क्याल्ली आइस एन्ड रक फेस्टिभल’ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । फेस्टिभललाई स्थानीय संस्थाका रुपमा यम्बु ठमिछो किदुग, नेपाल क्लाइम्बिङ टोलीको सहयोग रहनेछ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेदेखि उत्तर–पश्चिम पर्ने थामे क्षेत्र विश्व प्रख्यात आरोहीहरु रहेको क्षेत्र हो । 

विख्यात आरोही स्व तेञ्जिङनोर्गे शेर्पादेखि हाल २४औँ पटक सगरमाथाको आरोहण गर्ने कीर्तिमानी कामिरिता शेर्पा, विनाअक्सिजन सगरमाथाको दशपटक आरोहण गर्ने आप्पा शेर्पा लगायत १५० भन्दा बढी सगरमाथा आरोही थामेकै हुन् । थामे क्षेत्रको रक र आइस स्पोर्टलाई विश्वमाझ प्रवद्र्धन गरी यस क्षेत्रको युवा पुस्तालाई आकर्षण गर्ने लक्ष्यका साथ फेस्टिभल आयोजना गरिएको यम्बु ठमिछो किदुगका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । यस महोत्सवमा ३० जना प्रशिक्षकलाई नेपाल क्लाइम्बिङ टोलीका प्रशिक्षकले प्रशिक्षण दिने जनाइएको छ । महोत्सवमा प्रख्यात आरोही कामिरिता शेर्पालगायतले प्रशिक्षण दिनेछन् ।

त्यसैगरी मनाङको हुम्देमा तेस्रोपटक महोत्सव आयोजना हुन लागेको छ । समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइको हुम्देमा आइस क्लाइम्बिङ हुने भएको हो । महोत्सवमा आइस क्लाइम्बिङ कोर्स, फोटोग्राफी, एडभेन्चर फिल्म प्रदर्शनी, स्थानीय जातजातिका संस्कृति प्रदर्शनी हुनेछ । आइस क्लाइम्बिङ स्पोर्टको मुख्य गन्तव्य हुम्देलाई विश्वमा परिचित गराउनाका साथै साहसिक खेलको विकास गर्ने उद्देश्यले आइस क्लाइम्बिङको प्रशिक्षण दिने, सहासिक खेलप्रति आकर्षण बढाउने, आइस क्लाइम्बिङका प्रतिस्पर्धी उत्पादन गरी देश तथा विदेशमा प्रतिस्पर्धा गराउने लक्ष्य लिइएको छ । दक्ष जनशक्ति उत्पादन गरी निकट भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने एनएमएले जनाएको छ ।

यसअघि नेपाल भ्रमण वर्ष २०२० मा महोत्सव आयोजना गर्ने तयारी गरिएको भए पनि कोभिड–१९ महामारीका कारण पूर्वघोषित कार्यक्रम स्थगित भएको थियो । महामारीबीच सीमित सङ्ख्याको उपस्थितिमा स्वास्थ्य सावधानीका साथ महोत्सव गरिने एनएमएका महासचिव कुलबहादुर गुरुङले बताए । महामारीले थलिएको पर्यटन क्षेत्रको सुधारका लागि महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका सांसद राजीव गुरुङले साहसिक पर्यटकीय गन्तव्यको प्रवद्र्धनका निम्ति महोत्सव उपयोगी हुने बताए । उनले नेपाललाई विश्वभर चिनाउने प्रख्यात आरोहीको संरक्षण प्रवद्र्धनमा सरोकारवालाको ध्यान जान जरुरी भएको उल्लेख गरे । एनएमएका अध्यक्ष सन्तवीर लामाले नेपालको साहसिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

आरोही कामिरिता शेर्पाले विश्व चर्चित आरोही उत्पादन गर्ने थामे क्षेत्रको पहिचान तथा आन्तरिक र विदेशी पर्यटकको आकर्षणका लागि महोत्सव सान्दर्भिक हुने बताए । सो अवसरमा कीर्तिमानी आरोही कामिरिताको जन्मदिनको अवसर पारेर एनएमएले केक काटेर शुभकामना व्यक्त गरेको थियो । सांसद गुरुङ लगायत पर्यटन क्षेत्रका अगुवाले कामिरिताप्रति दीर्घायुको कामनासहित शुभेक्षा प्रकट गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै