• २०८३ बैशाख २४ बिहीबार

प्रधानमन्त्री ओलीको प्रश्न - कसरी हुन्छ संसद पुनर्स्थापना ?

प्रधानमन्त्री ओलीको प्रश्न - कसरी हुन्छ संसद पुनर्स्थापना ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नहुने कुरा पटक पटक दोहोराएका छन् । सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयमा प्रधानमन्त्री ओलीले हरेक दिन गर्ने भाषणमा संसद विघटन हुदै नहुने जोडदार तर्क गरिरहेका छन् ।

शनिबार पनि नेकपाको काठमाडौँमा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले संसद फर्किने सम्भावना नै नभएको बताए ।  संबिधानमा रहेको प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको बताए ।

प्रधानमन्त्री ओलीले बेलायतको उदाहरण दिदै बोरिस जोनसनले २१ सांसदलाई बर्खास्त गरेर निर्वाचनमा गएर फेरी बहुमत ल्याएर अहिले सरकार चलाइरहेको बताए । संसद विघटन संसदीय अभ्यास अन्तर्गतकै अभ्यास भएको तर्क प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, 'दुई तिहाई करिबको प्रधानमन्त्री म, दलको नेता म, मैले सरकार चलाउदिन ताजा जनादेश चाहियो भन्दै छ, कसरी हुन्छ पुनर्स्थापना ? घरवाला भन्दैछ छानो भत्कायो, नयाँ छानो चाहियो भन्दै छ, पुरानै छानो चाहियो भनेर छिमेकी कराउदै छ । चुहेको छानोले भएन, नयाँ छानो चाहियो भन्दैछन् । यो हुने कुरा होइन, अर्को कुनै विकल्प छैन ।' 

उनले अगाडी भने, 'संबिधानको धारा ७६ मा प्रधानमन्त्रीको सिफारिशमा संसद विघटन गरि नयाँ निर्वाचनको मिति तोक्ने छ भन्ने उल्लेख छ । पहिला यो सरकार ७६ २ अनुसार बन्यो र पार्टी एकीकरण अनुसार ७६-१ अनुसार बनेको हो ।'

'बहुमतको सरकारले अब देश अगाडी बढ्न सक्दैन, सरकार चलाउन सक्दिन भन्दा, झमेलायुक्त अवस्था अन्त्य गर्नका लागि हामीलाई नयाँ, ताजा जनादेश चाहिएको हो । मुद्धा लड्न त पाइयो, मुद्दा लड्नु एउटा कुरा हो । तर प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर विघटनको सिफारिश गरिएको हो ।' ओलीले भने ।

तिब्र आर्थिक वृद्धि भयो

ओलीले नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको दाबी गरेका छन् । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका १० वटा देशहरु जसले तिब्र आर्थिक वृद्धि गरे त्यसमा नेपाल परेको बताएका छन् । उनले मानव विकास सूचकांकमा नेपालले राम्रो प्रगति गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, 'नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा हुदैनथ्यो, भारतको हरेक प्रधानमन्त्री को छ भन्यो भने हरेकलाई कण्ठ छ । अन्तर्राष्ट्रिय मंचमा हाम्रो कुरा सुन्न थालिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले, चिनियाँ राष्ट्रपति सी जीङपीङले सम्बृद्ध नेपालको अभियानमा सघाउछौ भन्नु भयो तर प्रचण्ड र नेपालले समृद्ध नेपालको बारेमा शब्द पनि उच्चरण गरेनन् ।'

प्रधानमन्त्री ओलीले देशमा अहिलेसम्म नभएको विकासका कम भएको भन्दै आफ्नै पार्टीका नेताहरुले सरकारले गरेको काम नदेखेको आरोप लगाए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै