काठमाडौँ । सर्वोच्च अदालतले सरकारले यसअघि स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय कार्यान्वयन गर्न बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ ।
सरकारको पूर्व निर्णयको कार्यान्वयनसँगै उक्त प्रदेशमा ९ वटा थपिएर स्थानीय तहको संख्या १ सय ३६ पुग्नेछ । देशभर कुल स्थानीय तहको संख्या ७४४ बाट बढेर ७५३ हुनेछ ।
स्थानीय तह पुन: संरचना आयोगले प्रतिवेदन बुझइसकेपछि मधेसी दलकै दवाबमा प्रदेश नम्बर २ मा दोस्रो पटक स्थानीय तहको संख्या वृद्धि हुँदैछ ।
यसअघि सरकारले फागुन २२ मा ८ जिल्लामा २३ वटा स्थानीय तह थपेर मात्रै पुन: संरचना प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएको थियो । जुन सर्वोच्चको आदेशले कार्यान्वयन हुन् सकेको थिएन ।
प्रदेश नम्बर २ हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगर सहित ७७ नगरपालिका हुनेछन् ।