• २०८१ बैशाख १७ सोमबार

विद्युत प्राधिकरण दिपायल शाखाबाट राष्ट्रिय प्रसारणको लाइन विस्तार

kharibot

फाइल तस्वीर

डोटी । जोरायल गाउँपालिका–५ गड्सेरामा वर्षौंपछि नेपाल विद्युत प्राधिकरण दिपायल शाखाले राष्ट्रिय प्रसारणको विद्युत लाइन विस्तार गर्न थालेको छ । 

सो वडाका खहडा, चौकी, अमौन, बोकडा, हडरानी, बडिगाड, पातलीगाउँ, चोखाल गाउँ, मनोहबजार, ठाँटी लगायतका ठाउँमा विद्युत लाइन विस्तार गर्नका लागि बजेट विनियोजन गरिएसँगै अहिले पोल गाड्नका लागि विस्तृत सर्वेक्षण शुरु गरिएको छ । 

जोरायल क्षेत्रबाट जडान गरिँदै उक्त विद्युत लाइन शिखर नगरपालिका–१ कपल्लेकीसम्म पुर्याइने योजना अनुसार काम भइरहेको छ । कम्तीमा पनि रु २० देखि २५ लाखको लगानीमा अहिले उक्त वडामा विद्युत विस्तारको काम शुरु गरिएको र पछि बजेट थप गरिने बताइएको छ । जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित जोरायलबाट नै विद्युत विस्तार सेवा सञ्चालन गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दिपायल शाखाका कार्यालय प्रमुख कुम्भराज जोशीले बताए । उनले भने, “आगामी असार मसान्तसम्म जिल्लाका सबै स्थानीय तहमा राष्ट्रिय प्रसारणको विद्युत पुर्याउने लक्ष्य अनुसार हामीले काम शुरु गरेका छौँ, कति सक्छौँ हेर्दै जाउँ ।” विद्युत सेवा विस्तार गरिन थालेपछि गड्सेराका स्थानीयवासी निकै खुशी भएका छन् ।

उक्त ठाउँमा स्थानीय खोलाबाट विद्युत सेवा निकालिए पनि सबै गाउँमा विद्युत् आपूर्ति गर्न नसकिएका कारण समस्या झेल्दै आएका नागरिक अब चौबिसै घण्टा विद्युतको उज्यालो पाउनेमा निकै खुशी भएको स्थानीयवासी तथा नवोदय माविका शिक्षक टोपबहादुर बोहराले बताए । उनले भने, “विद्युत नहुँदा विद्यार्थीदेखि आम नागरिकलाई सास्ती भएको थियो, अब राष्ट्रिय प्रसारणको विद्युत आउने भएपछि सबैलाई सहज हुनेछ ।” 

विद्युत् विस्तारका लागि अहिले उक्त वडाका गाउँगाउँमा कर्मचारी खटाइएको र पोल ढुवानीको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दिपायल शाखाले जनाएको छ । राष्ट्रिय प्रसारणको विद्युत सेवा सुचारु भएपछि सो वडाका सयौँ घरधुरी लाभान्वित हुने भएका छन् ।

कालोपत्रको काम अन्तिम चरणमा

सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजनका रुपमा लिइँदै आएको डोटीको बुडर–जोरायल सडकखण्डको बुडरदेखि रिठा गाउँसम्म करिब १२ किलोमिटर सडक कालोपत्रको काम करिब अन्तिम चरणमा पुगेको छ । 

कालोपत्र निर्माणको जिम्मा पाएको कम्पनी राजेन्द्र निर्माण सेवाले कालोपत्रको काम करिब करिब अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त कामको शिलान्यास गत असोज २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए । उक्त सडकको सम्पूर्ण काम आगामी जेठ मसान्तभित्र पूरा गर्ने गरी ठेक्का सम्झौता भएको बताइएको छ । ठेक्का सम्झौता भएसँगै उक्त सडकको काम तीव्ररुपमा सञ्चालन भइरहेको सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए । जिल्लामा पछिल्लो समय विकास निर्माणका कामले तीव्रता पाएका छन् । 

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले कामको जिम्मा लिने तर समयमै काम नसक्ने ठेकेदारलाई कालोसूचीमा राखी कारवाही गर्न निर्देशन दिएसँगै यहाँका पुराना विकासका कामले तीव्रता पाएको जोरायल गाउँपालिका–३ का स्थानीयवासी पवनकुमार साहुले बताए । उनले भने, “कामको ठेक्का लिने तर काम नगरी योजना अलपत्र पारे हिँड्ने ठेकेदारलाई कालोसूचीमा राख्न मुख्यमन्त्रीले निर्देशन दिएपछि अहिले जिल्लामा पुराना विकासका योजना तीव्ररुपमा शुरु भएका छन् ।”

सडक कालोपत्र गर्नका लागि राजेन्द्र निर्माण सेवा डडेल्धुराले कन्टेन्जेन्सी रकमसहित रु ७२ करोड ५६ करोड ३१ लाख १५ हजार ६५२ मा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । हाललाई सडक १२ किलोमिटर सडक कालोपत्र गर्न रु ३२ करोड ७१ लाख ४७ हजार ५६५ सम्झौता रहेको छ । बुडरदेखि जोरायलको चनकट्टेसम्म कम्तीमा पनि ३० किलोमिटर सडक तीन वर्षभित्र कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

यसैगरी सडक चौडा गर्ने विषयमा विगत १८ वर्षदेखि विवादित बनेको डोटीको बुडर–जोरायल सडक निर्माण कार्यको काम पनि अहिले आएर बल्ल शुरु भएको छ । सडक निर्माण कम्पनी तथा जग्गाधनीबीच उत्पन्न भएको विवाद गाउँपालिकाले सहमतिमा ल्याएपछि अहिले आएर सडक फराकिलो पार्ने कामको शुरुआत गरिएको छ । 

सडक चौडा पर्ने सहमति भएसँगै अहिले जोरायल गाउँपालिका–२ बाँजीलेकदेखि खैरिखोला हुँदै जिजिकोट भएर तल्लो हाट जोड्ने सडकमा डबल कटिङको काम शुरु भएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “निर्माण कम्पनी र जग्गाधनीको विवादले १८ वर्षदेखि काम बन्द भएको सडकमा हामीले सहमति गराएर अहिले सडक फराकिलो गर्न थालेका छौँ । सबैलाई आवश्यक पर्ने काममा विवाद गर्नु राम्रो होइन ।” 

बुडर–जोरायल सडकखण्डको बाँजीलेकदेखि खैरीखोला हुँदै जिजिकोट भएर तल्लोहाट जोड्ने गरी सर्भे भएको बाटोमा विवाद भएपछि बाँजीलेकबाट गुँयली हुँदै रावल गाउँ भएर तल्लो हाटसम्म सडक निर्माण गरी यातायात सञ्चालन भइरहेको थियो । 

सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेका बुडर–जोरायल सडकखण्डको रिठादेखि चन्कट्टेसम्मको १७.३० किलोमिटर सडक कालोपत्र गर्न काम शुरु भएसँगै उक्त सडकमा रहँदै आएको विवादमा सहमति जुटेको स्थानीयवासी चित्रराज भट्टले जानकारी दिए । विसं २०५८/०५९ तिर सर्भे भएको ठाउँबाटै सडक निर्माण गर्ने सहमति भएर काम शुरु भएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुनाकुमारी बोहराले जानकारी दिए । 

विवाद सिर्जना भएपछि डाइभर्सन बदलेर बाँजिलेक गुँयली हुँदै तल्लोहाट जोडिएको अहिले सञ्चालनमा रहेको सडक स्टिमेटबाट पहिले नै क्यान्सिल भइसकेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको उक्त ठेक्का जोरायलका स्थानीयवासी क्षेत्रबहादुर खड्का, चित्र भट्ट र वीरबहादुर दर्लामीसँग पेट्टी ठेक्का सम्झौता भएर रिठाबाट चन्कट्टेसम्मका लागि काम अगाडि बढाइएको हो ।

ग्रामीण सडकमा राति गाडी चलाउन बन्द

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा दुर्घटना बढेको भन्दै रातिको समयमा गाडी चलाउन बन्द गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी डोटीले जिल्लामा रहेका सबै ग्रामीण सडकमा रातिको ६ बजेदेखि बिहान ६ बजेसम्म गाडी चलाउन बन्द गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई आज एक ज्ञापनपत्र बुझाएको छ । विद्यार्थीले ग्रामीण सडकमा रातिको समयमा गाडी चलाउन बन्दको मागसहित ज्ञापनपत्र पेश गरेसँगै अहिले यहाँका ग्रामीण सडकमा रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरी रोक लगाएको छ ।

जिल्लामा राति सञ्चालन भएकै कारण एक हप्ता पहिले बोगटान फुड्सिल गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको र रातिको समयमा ग्रामीण सडकमा गाडी चलाउने कार्य तत्काल बन्द गर्न माग गर्दै आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेश गरेको नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी संयोजक डबल बोहराले बताए । उनले भने, “यहाँका ग्रामीण सडक रातिको समयमा गाडी चलाउन उपयुक्त छैनन्, जति दुर्घटना भएका छन्, सबै दुर्घटना राति नै भएकाले त्यसलाई रोक्न रातिका समयमा गाडी चलाउन बन्द गर्न हामीले माग गरेका हौँ ।”

प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्लामा रहेका सबै ग्रामीण सडकमा रातिको समयमा कुनै पनि मालबाहक तथा यात्रु बोक्ने सवारी साधन (जीप) सञ्चालन कार्य तत्काल बन्द गर्न सम्बन्धित प्रहरीलाई निर्देशन दिएको र नियमको अटेर गरी गाडी चलाउनेलाई कारवाही गरिने बताए । उनले भने, “रातिको समयमा ग्रामीण सडकमा गाडी चलाउन रोक लगाउन भनेको छु, अटेर गर्नेलाई कानूनी कारवाही हुनेछ ।”

राति गाडी चलाएकै कारण जिल्लामा एक वर्षको अवधिमा करिब १२ वटा ठूला सवारी दुर्घटना भई २० जनाको ज्यान गइसकेको र २५ जनासम्म गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यसैगरी जिल्लामा गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा समितिले तोकेकोभन्दा बढी भाडा लिने सवारी साधनलाई पनि कारवाही गर्न माग गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै