• २०८१ बैशाख १५ शनिबार

पाथीभरा गोल्डकप : चर्च ब्वाइज काठमाडौँ सेमिफाइनलमा

kharibot

ताप्लेजुङ । यहाँ जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । 

प्रतियोगितामा अतिरिक्त समयको सदुपयोग गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय सकिँदासम्म दुवै टोली एक एकको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमा चर्च ब्वाइजका राज पौडेलले गरेको गोल नै जीतका लागि पर्याप्त बन्यो । 

यसअघि खेलको सातौँ मिनेटमा चर्च ब्वाइजका मार्टिनले एक गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ५६ औँ मिनेटमा राष्ट्रिय जागृति क्लबका जर्सी नं ७ का भोला राईले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई बराबरीमा पुर्याएका थिए । 

चर्च ब्वाइजले सेमिफाइनलमा घरेलु टोली नव प्रयाससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा घरेलु दुईसहित विभिन्न जिल्लाका १० टोलीको सहभागिता छ । यही साउन ३० गते सम्पन्न हुने उक्त प्रतियोगिताका विजेताले ट्रफीसहित रु दुई लाख ११ हजार १११ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । लाखे जात्राका अवसर पारेर विसं २०२९ देखि हरेक वर्ष सो प्रतियोगिता सञ्चालन हुँदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै