• २०८१ बैशाख २२ शनिबार

नक्कली सुन प्रकरण : फरार इल्ताफ हुसेन बाराबाट पक्राउ

kharibot

तस्बीर : श्याम गुप्ता


बारा । काठमाडौँको कमलादीमा १४ किलो नक्कली सुन बरामद प्रकरणमा फरार बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट अन्सारीलाई पक्राउ गरेको हो ।

सुन प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको गाडी अन्सारीको हो । प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि उनी स्कोर्पियो गाडी छाडेर अन्सारी भागेका थिए ।

सुन प्रकरणमा प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिकसहित प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । घटनामा निर्दोष देखिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गुरुङलाई छाड्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको थियो भने भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन् । 

गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर ठग्ने योजना बनाएको देखिएको छ । उक्त गिरोहका सदस्य चाँदीमा जलप लगाइएको सुन भारतको राजस्थान लगी ठूला व्यापारीलाई ठग्ने योजनामा रहेको प्रहरी स्रोतले बताएको छ । 

प्रहरीले घटनालगत्तै १५ किलो सुन बरामद गरिएको जनाएको थियो । पछि जाँच गर्दा साढे १४ किलो चाँदी पुष्टि भएको थियो भने आधा किलो मात्रै सुन भेटिएको थियो । अहिले उनलाई काठमाडौ लैजाने तयारी हुदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै