• २०८१ बैशाख २८ शुक्रबार

घोराहीका विद्यालयहरुमा थारू भाषामा पठनपाठन हुने

kharibot

प्रतिनिधि तस्वीर

नारायणपुर । दाङको घोराही उपमहानगरपालिका भित्रका विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ ।

यसका लागि उपमहानगरपालिकाले थारू कल्याणकारिणी सभाको सहयोगमा पाठ्यक्रम तयार समेत गरेको जनाएको छ । पाठ्यक्रम उपमहानगरपालिकाभित्रका थारू बाहुल्य रहेका विद्यालयमा लागू हुनेछ ।

पाठ्यक्रमको बालबालिकाका लागि आफ्नै मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने, नयाँ विषयवस्तुलाई आफ्नो मातृभाषामा शिक्षण धारणा स्पष्ट भई आत्मविश्वासको विकास गराउने, विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक विकासलाई प्रभावकारी सहयोग पुर्याउने पाठ्यक्रमको ध्येय रहेको छ । यसैगरी थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै दोस्रो भाषामा सिक्न सजिलो बनाउने र थारू भाषाको संरक्षण, प्रवद्र्धन र विकासमा टेवा पु¥याउनेलगायतका ध्येय समेत रहेको छ । 

१६ विषयवस्तु र चारवटा कार्यक्षेत्र समेटेर पाठ्यक्रम तयार पारिएको

थारू कल्याणकारिणी सभाका अध्यक्ष एवं थारू मातृभाषा पाठ्यक्रम टोलीका संयोजक भुवन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विषय कार्यक्षेत्रमा सुनाइ र बोलाइमा (ध्वनि सचेतीकरण), पढाइमा पठन प्रवाह (अर्थबोध र पठनबोध), लेखाइमा (लेख्य वर्ण सचेतीकरण र लेखाइ) र शब्द भण्डारण र व्याकरण रहेका छन् ।

विषयवस्तुमा मै ओ म्वार परिवार, म्वार दैनिकी, हमार समुदाय, हमार विद्यालय, हमार वातावरण, म्वार स्वास्थ्य रहेको छ । म्वार सिर्जना, हमार संस्कृति, असल व्यवहार, हमार बजार, हमार देश, म्वार संसार, खेल, हमार प्रविधि, हमार सीप र सूचना, सञ्चार रहेका छन् ।

उपमहानगरपालिकाले गत वर्षदेखि थारू भाषालाई सरकारी कामकाजीको भाषा बनाइसकेको भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन । गत वर्षदेखि नै थारू बाहुल्यता रहेका विद्यालयमा मातृभाषामा पढाउने निर्णय समेत भएको थियो ।

पहिलो चरणमा कक्षा १ देखि ३ सम्म थारू भाषाको पाठ्यक्रम पठनपाठन हुने उपमहानगरपालिकाका  प्रमुख नरुलाल चौधरीले जानकारी दिए । “ उपमहानगरपालिकाभित्रका थारूहरुको बाहुल्यता रहेको विद्यालयमा  पाठ्यक्रम लागू हुनेछ”, उनले भने । 

नेपालको संविधानमा मातृभाषाबाट पनि पठनपाठन गराउन सक्ने व्यवस्था छ । संविधानको व्यवस्था अनुसार पाठ्यक्रम बनाउन थारू कल्याणकारी सभालाई जिम्मा दिइएको उनले जानकारी दिए । “थारू कल्याणकारी सभाले पाठ्यक्रम बनाइसकेको छ उक्त पाठ्यक्रमलाई शिक्षा महाशाखाले हेरेर प्रतिक्रिया दिएपछि लागू हुनेछ”, उनले भने ।

घोराहीलाई थारू भाषाको पहिचानसहितको नगर बनाउने उद्देश्य अनुसार आधारभूत तहबाटै लागू गर्न खोजिएको उनको भनाइ छ । “थारू भाषालाई सर्वव्यापी बनाउन जरुरी छ, हामीले थारू भाषालाई जिल्लाव्यापी बनाउन नसके पनि घोराहीव्यापी बनाएरै छाड्छौं”, उनले भने ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै