• २०८३ श्रावण ८ शुक्रबार

बडीमालिकाको पूजाका लागि सरकारी टोली त्यसतर्फ प्रस्थान

बडीमालिकाको पूजाका लागि सरकारी टोली त्यसतर्फ प्रस्थान

फाइल तस्बीर

मार्तडी । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको पूजाका लागि आज सरकारी टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

जिल्ला सदरमुकाम मार्तडीबाट बडीमालिकाको पूजाका लागि आज पूजा सामग्रीसहित सरकारी टोली त्यसतर्फ पठाइएको बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी दिए ।

साउन शुक्ल पूर्णिमाका अघिल्लो दिन हुने बडीमालिकाको पूजाका लागि सो टोलीलाई औपचारिक रुपमा बाजागाजासहित बिदाइ गरेको नगरपालिकाका उपप्रमुख कविता विष्टले बताइन् । सरकारी पूजाका लागि नगरपालिकाका नायब सुब्बा विवेश शाह नेतृत्वको टोली बडीमालिकामा गएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले जानकारी दिए । 

बडीमालिकाको दर्शनपछि मागेको पूरा हुने र मनमा शान्ति मिल्ने जनविश्वास रही आएको छ । यस्तै पूर्वी उत्तरी भेगको बुढीनन्दाको पूजाका लागि पनि आज नै पूजा टोली त्यसतर्फ प्रस्थान गरेको बुढीनन्दा नगरपालिकाले जनाएको छ । 

चार शक्ति पीठमा एकपटक पुजा  

जिल्लाका चार शक्ति पीठमा एकै दिन पूजा लाग्ने गरेको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेका बडीमालिका, बुढीनन्दा, बडालेख र सुनन्दामा एकै दिन अर्थात साउन पूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ । 

शक्तिका रुपमा रहेका धार्मिक पीठमा आआफ्नै तरिकाले पूजा आरधना गर्ने गरिन्छ । बडीमालिकाको पूजाका लागि गएको सरकारी टोली आज लादे पाटनमा बस्ने र भोलि मात्र त्रिवेणी क्षेत्रका लागि प्र्रस्थान गरिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै