• २०८१ असार १८ मंगलबार

दक्षिण अमेरिकामा कोरोनाबाट एक लाख बढीको मृत्यु

kharibot

मन्टेभिडियो । दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ ।

एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् । 

दक्षिण अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमा ब्राजिल, मेक्सिको, पेरु र चिली रहेका छन् । यस क्षेत्रमा कूल संक्रमितको संख्या पनि करिब २१ लाख पुगिसकेको छ । 

ब्राजिलमा हालसम्म ५२ हजार ६४० जनाभन्दा बढीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ११ लाख ४५ हजार ९०६ जना संक्रमित छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या संयुक्तराज्य अमेरिकापछि दोस्रो स्थानमा छ । 

पेरुमा पनि कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ६० हजार नाघेको छ । पेरुमा जारी अनिवार्य लकडाउन १०० दिन पुगेको छ । पेरुको छिमेकी राष्ट्र कोलम्बियाले क्वारेन्टिनको अवधि आगामी जुलाई १५ सम्म बढाएको छ । 

कोलम्बियामा २ हजार ४०४ जनाभन्दा बढीको मृत्यु हुनुका साथै ७४ हजारको हाराहारीमा मानिस संक्रमित छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै