• २०८१ बैशाख १६ आइतबार

डा.बाबुराम भट्टराईको नाममा लागेको टिपेक्सको नालीबेली

kharibot

काठमाडौं । आइतबार साझदेखि पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नाममा लागेको टिपेक्स चर्चामा रहेको छ ।

जनता समाजवादी निर्वाचन आयोगमा दर्ता हुनआवश्यक विवरणसहित बुझाउने अन्तिम दिन थियो आइतबार । गत बैशाख १० गते मध्यरातमा सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि एकता घोषणा गरेका समाजवादी र राजपाले आइतबार निर्वाचन आयोग पुगेर विवरण बुझाई आधिकारिक रुपमा दल दर्ताको प्रक्रिया पुरा गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्ने हुनाले आइतबार सम्मको समय रहेको थियो ।

एकीकरण घोषणाको डेढ महिनासम्म पदीय भागबण्डा मिलाउन नसकेर एकता नै संकटमा परेको चर्चा भैरहदा आइतबार अन्तत: आयोगमा दर्ता प्रक्रिया पुरा भने गरेका छन् । तर दल दर्ता हुदै पदीय भागबन्डाको झगडाको बिजारोपण समेत गरेका छन् । भागबन्डामै अल्झिदा अन्तिम समयसम्म पनि शिर्ष नेताहरु पूर्ण सहमतिमा पुग्न सकेनन् । निर्वाचन आयोगमा दोस्रो तहका नेताहरु दल दर्ता गर्न पुगिरहदा शिर्ष नेताहरु भागबन्डा मै छलफलमा थिए । शुरुमा संघीय परिषदको अध्यक्ष डा. भट्टराईलाई बनाउने र उनलाई सेरोमोनियल बनाएर शिर्ष वारियतामा राख्ने तथा महन्थ ठाकुर र उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष बनाउने सहमति भयो ।

तर यो सहमतिमा महन्थ ठाकुरले आपत्ति जनाएपछि विवाद बढेको जसपा नेताहरु बताउछन । महन्थ ठाकुरले आफु शिर्ष वरियतामा हुनुपर्ने र नभए अध्यक्ष नै नबन्ने अडान लिएका थिए भने उनको अर्को अडान  समाजवादीबाट दुई अध्यक्ष बन्ने विषय थियो । विवाद बढ्दै जादा उनले छलफल नै छोडेर जान खोजेको समेत बताईन्छ । स्थिति असहज बनेपछि राजेन्द्र महतोले भूमिका खेलेको बताइएको छ ।

सहमति नहुने अवस्था आएपछि अन्तिम समयमा डा. भट्टराई आफु वरिष्ठ नेतामा बस्न तयार रहेको प्रस्ताव गरेका थिए । उनले पार्टी एकीकरणका लागि आफु त्याग गर्न तयार रहेको बताउदै आफुलाई वरिष्ठ नेताको हैसियतमा राख्दा आपत्ति नहुने बताएपछि सहमति भएको थियो । तर शुरुमा डा, भट्टराईलाई दुई अध्यक्षपछि राखिने भएपनि समानुपातिक प्रतिनिधित्वका लागि अशोक राईलाई माथि राखिनुपर्ने विषय उठेपछि उनलाई चौथो नम्बरमा राखिएको थियो । यसरी दल एकीकरणका लागि दिइएको कम्प्युटर प्रिन्ट निवेदनमा दोस्रो नम्बरमा राखिएका डा.भट्टराईको  नाममा टिपेक्स लगाई चौथो नम्बरमा नाम थपेर बुझाइएको हो । 

जसपाका नेताहरुले भने निर्वाचन आयोगमा आइतबार नै पुग्नुपर्ने बाध्यता भएकोले २ पार्टीबाट एक एक अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरिएको दाबि गरेका छन् । कतिपय विषय मिलेका छैनन् भन्दै उनीहरुले अब बैठक बसेर मिलाइने समेत दाबि गरेका छन् ।

सामाजिक संजालमा डा. बाबुराम भट्टराईलाई मजाकको विषय बनाइएको छ । धेरै जसोले टिप्पणी गर्दै डा. भट्टराईको डिमोसन भएको चर्चा गरिरहेका छन् । तत्कालिन माओवादी पार्टी छोडेर नयाँ शक्ति हुदै समाजवादी पार्टी बनाएर अहिले जनता समाजवादीको चौथो वरियतामा पुगेको भन्दै उनको आलोचना भइरहेको छ । तर जसपाका नेताहरुले भने यो अहिले प्राविधिक रुपमा मात्र भएको र आउदा दिनमा अझ छलफलपछि यसलाई मिलाइने दाबि गरिरहेका छन् ।

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै