• २०८३ बैशाख २३ बुधबार

डियर अल इसेन्सियल वर्कर्स...थ्यांक यू !

डियर अल इसेन्सियल वर्कर्स...थ्यांक यू !

नवराज जोशी

यो विषम घडीमा सम्भवत: तपाईंहरु आफ्नो जिवनलाई जोखिममा राखी विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सँग आफै लड्दै हुनुहुन्छ । तपाईंहरु सबै महान काम गर्दै हुनुहुन्छ । तपाईंहरु सबैलाई प्रेम, सम्मान, कदर र उच्च प्रशंसा पठाउँदै तपाईंहरुको यो वफादार सेवाको लागी भित्रि हृदय देखि नै हार्दिक धन्यवाद । म सम्मान र सराहनाका साथ तपाईंहरु सबैलाई सलाम गर्दछु ।

यतिबेला विश्‍व मानव जगतमा एक महान संकट, एक कठिन घडी, एक पिडादायी अवस्था, एक प्रतिकुल समय र एक नयाँ चुनौती जुन असाधारण समयको रुपमा देखा परेको छ । जुन गम्भीर तीव्र श्वासन सिन्ड्रोम कोरोना भाइरस (सार्स-कोभड-२) को कारण संक्रामक रोगको रुपमा कोरोना भाइरस रोग-२०१९ (कोभिड-१९) को नामले पहिलो पटक डिसेम्बर २०१९ मा चीनको वुहानमा पहिचान भयो र त्यसपछि विश्वव्यापी रूपमा फैलिएको छ, जसको परिणामस्वरूप विश्‍वभरी निरन्तर महामारी फैलिएको छ ।

यस असाधारण समयका लागि विभिन्न असाधारण उपायहरू अबलम्बन गरिए र गरिनु आवश्यक मानिन्छ पनि । लाग्छ, परिस्थितिको पहिचानलाई प्रकृतिले अनुकुलनका रुपमा लिएको हुन्छ । किनकि, प्रणाली मर्मत-संभार र अनुकुलनले सबैतिर चौतर्फी स्थिरता ल्याउन मदत पुर्याउदछ।जुन स्थिरता एउटा अन्यौलको बाटोमा पाखण्डी युगसँगै समयको समिकरण गर्दै आस्थाको ओढार खोजेजस्तो अर्थात बालुवामा पानी थुपारेजस्तै भएको अवस्थामा पनि एक टिम जो हरदिन, हररात प्रयत्नशिल छ, जसले वर्तमान संकटको अवस्थालाई नजिकबाट नियाल्दै अनि यसका चुनौतिहरुलाई सामना गर्न आफ्नो निरन्तरको योगदान, खोज, अनुसन्धान एवं प्रयासलाई जारी राखेका छन्, त्यो हो टिम वर्क र जुन टिममा कार्यरत सबै इसेन्सियल वर्कर्स। तपाईंहरु (अल इसेन्सियल वर्कर्स) को यो टिम विश्वव्यापी महामारीको रुपमा फैलिएको यस कोरोना भाइरस (कोभिड-१९) को कठिन एवं विषम् घडीमा सर्वश्रेष्ठ कार्य गर्ने अहिले सम्मकै सर्वश्रेष्ठ टिम हुनुपर्छ ।

यस टिमले प्रमाणित गर्दछ कि, टिम कार्यले सँधै कठिन समयमा कठिन काम गर्ने गर्दछ’। कुनै पनि व्यक्तिमा ज्ञान हासिल भएपछि चेतना निर्माण हुन्छ।चेतनाले एक खालको दृष्टिकोण बनाउदछ।उक्त सबै कुराको संयोगले मानिसमा एक बेग्लै मानसिकताको निर्माण गराउदछ ।‘त्यो हो आवश्यक परेको खण्डमा तम्तयार हुनु, रहनु’अर्थात जीवनको हरेक दिन आफ्नो बलिदान दिई खाँचोमा परेकाहरूलाई मद्दत पुर्‍याउनु । मानवजातीमा भएको बुद्धि एवं विवेकले ज्ञान हासिल गर्नुपर्दछ भन्ने सिकायो । जसले सम्पुर्ण मानव मष्तिष्कमा परिस्थितिको पहिचान र विभिन्‍न प्रतिकुलताहरुको सामना गर्न सक्ने दृष्टिकोण बनाउन मदत पुर्‍यायो । असल दृष्टिकोणले कुनै पनि व्यक्तिलाई उसको असल कर्म, कर्म गर्ने इच्छा, तत्परतामा रुपान्तरण गर्दछ।यो कुरा तपाईंहरुले पुष्टि गर्नुभयो र गर्दै आउनुभएको छ जसमा तपाईंहरु निरन्तर लागिपर्नु भएको छ । यो टिम वर्क हो वर्तमान समयमा विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को बिरुद्ध लड्दै गरेको सम्पुर्ण इसेन्सियल वर्कर्सहरुको ।

‘त्यो बिरामी मान्छेको गला सुकिसकेको छ । आँखामा कुनै चमक छैन, बिरामी हाँस्न खोज्दछ तर हाँस्न सक्दैन, बोल्न खोज्छ तर बोल्न पनि सक्दैन । किनकि, उ कोरोना संक्रमित हो रे । उसको हाँस्ने, बोल्ने र खुसी महसुस गर्ने सामर्थ्य गुमेको देखिन्छ । उसका नजिक जान या उसको अवस्था-हालखबर बुझ्न समेत निषेध गरिएको छ । उसलाई छुन बर्जित छ । अरुबेला उ सामान्य बिरामी पर्दा अस्पताल जानुपरे पुर्‍याउने र गैसकेपछि उसलाई भेट्न आउनेहरुको लाईन लाग्थ्यो रे । तर, यसपटक कोही कसैको अत्तोपत्तो उसले महसुस गर्न समेत पाएन । किनकि उ कोरोना संक्रमित हो रे । उ एकोहोरो हेर्ने भएको छ त केवल उपचारमा संलग्नहरुको आउने बाटोतिर मात्र । उसको ध्यान अनि हेराई पनि एकोहोरो भएको छ । उसका आफन्तहरुसित भेट्न मनाही रहेको छ । उसका आफन्तहरुले उसको जानकारी सहजै माग्न सक्ने वातावरण छैन ।

जुन मनाहीसहितको उसको र उसको परिवारको श्रव्य, दृश्य या श्रव्यदृश्य जोडफल सहितको मुखाकृति, हाउभाउ मिडियाद्वारा प्रदर्शित दृश्यले गरिने र गरिएको सबैको मुहारमा एउटा अत्यास, अन्योल र भयले सताइरहेको प्रष्ट देखिन्छ । यस्तो विषम् परिस्थितिमा पनि आफ्नो छातिलाई बिशाल पारी तपाईं हामी सबैको उद्दारको लागी अहोरात्र खटिएको एक जमात हो इसेन्सियल वर्कर्सको । सलाम छ तपाईंहरु सबैलाई ।

यस विषम् घडीको अग्रणी भाग अर्थात फ्रन्टलाइनमा रही कार्य गरिरहनुभएका सबै आवश्यक कामदारहरू, उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मीहरु, वैज्ञानिकहरु, शोधकर्ताहरू जो यस महामारीको उपचार फेला पार्न दिनरात प्रयत्नशिल हुनुहुन्छ, हुलाककर्मीहरु जसले सही सुचना संप्रेषणको कार्य गरिरहनुभएको छ, अस्पताल विकास सहयोग अभियान एवं हेल्प डेस्ककर्मी, रेडक्रसकर्मी, सरसफाई अभियानको अभियन्ताहरु, सम्पुर्ण सञ्चारजगत, सबै सहयोगी सरकारी एवं गैरसरकारी कर्मचारीहरु, कृषि कामदारहरु, दैनिक उपभोग्य वस्तु वितरणकर्ताहरु, सवारी आवागमन व्यवस्थापनदेखी बाटोमा हिडिरहेका मानिसहरुलाई पानी खुवाइरहेका ट्राफिक प्रहरीहरु, सम्पुर्ण सुरक्षा निकायका कर्मचारीहरु, पैदल यात्रीहरुलाइ ड्राइ फुडदेखी जुत्ता-चप्पलको व्यवस्था गरिरहनुभएका सहजकर्ताहरु, कपडा बितरण अभियानका अभियन्ताहरु, क्वारेन्टाइन व्यवस्थापकहरु, मानविय सहयोगार्थ स्थापित विभिन्न अभियानका रास्ट्रीय एवं अन्तराष्ट्रीय संयोजकहरु, सामाजिक अभियन्ताहरु, जनचेतना सम्प्रेषण कर्ताहरु एवं संयोजकहरु, हामी र हाम्रा ढोकासम्म प्रकाशन पुर्याउन प्रतिवद्ध पत्रपत्रिकासँग सम्बद्ध कर्मचारीहरु, अनलाईनहरु जसले समय सान्दर्भिक लेख, रचना एवं आवश्यक जनचेतनारजानकारीहरु सम्प्रेषण गर्दै हुनुहुन्छ, यस्तै लेखकहरु, सबै शिक्षक(शिक्षिकाहरु जसले घरबाट विद्यार्थीहरूलाई आवश्यक पर्ने ज्ञान एवं समय दान दिनुभएको छ, अनि सबै बच्चाहरुका अभिभावकहरु जो अहिले घर शिक्षणमा रहनुभएका छन्, यी लगायत सम्पुर्ण यस्तै खाले जसले यस कठिन समयमा आवश्यक पर्ने सेवाहरू प्रदान कार्य जारी राखेका छन् र सबैलाई आशा दिई अनिश्चितता र डरको समयमा प्रकाश ल्याउनमा क्रियाशिल सबै बिशाल मन भएका तपाईं प्रत्येक हिरोहरुलाई हार्दिक धन्यवाद।

यस्तो संवेदनशील यस परिस्थितिलाई तपाईं हामी सबैले एउटा रोगको दृष्टिकोणले मात्र नहेरी हरेक दृष्टिकोणले हेर्नुपर्ने बेला आएको छ र गम्भिर सोच बनाउनुपर्दछ।‘हुन्छ’ भन्नुपर्ने कुरा ‘हुदैन’ र ‘सकिन्छ’ भन्नुपर्ने कुरा ‘सकिदैन’ समेत भन्नुपर्ने या रुपान्तरित भएको यस अवस्थामा परिस्थिति र परिवेशलाई आकाश जमिनको फरकको रुपमा लिई, स्वीकार गरी सबैले आ(आफ्नो तर्फबाट आशाको दियोमा तेल थप्न कन्जुसाई नगरौं।

यो छोटो टिप्पणीमा समेट्न नसकेका विना भुक्तानी यो संकटमा आफ्नै सुरक्षा र कल्याणको त्याग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार।तपाईंहरु विना यो सम्भव हुने छैन।तपाईहरु सबैजना अनिश्चित संसारमा वास्तविक नायकहरु हुनुहुन्छ।

तपाईंहरुको यो कसरतले छिट्टै पुर्ण सफलता पाओस्।म, हामी सबैजना तपाईंहरु सबैको समर्पण र हेरचाहको लागी आभारी छौं । धेरै धेरै शुभकामना छ कि तपाईहरु सबैजना सुरक्षित र स्वस्थ रहनु । छिट्टै नयाँ बिहानीको सुरुवात होस् जसले सबै प्राणि जगतको मुहारमा खुसी अनि उमङ्ग ल्याओस् । तपाईं हामीहरु सबैले निर्धक्क रुपमा यो श्वासन सिन्ड्रोम रहित श्वास फेर्न सकू, सबैको जय होस् ।
थ्याङ्क यू अल इसेन्सियल वर्कर्स।थ्याङ्क यू भेरी मच।

सुझाव र प्रतिक्रियाका लागी joshinawaraj301@gmail.com


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै