• २०८१ बैशाख १६ आइतबार

पश्चिमाञ्चल क्याम्पसमा 'रक एण्ड टनेल' इञ्जिनीयरिङको पठनपाठन

kharibot

फाइल तस्वीर

कास्की । पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ ।

अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइ लगायतका आयोजना निर्माण गर्न समय र लागत समेत बढी लाग्ने गरेकामा सरकारले द्रुत विकासका लागि सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ ।

चालू आर्थिक वर्षमा देशका विभिन्न १२ स्थानमा सुरुङगार्ग निर्माणको योजना अघि सारिएकामा नौबिसे–नागढुङ्गा शिलान्यास भए पनि आवश्यक दक्ष प्राविधिक र इञ्जिनीयरिङ जनशक्तिको अभावमा अन्य आयोजना अघि बढ्न सकेको छैन । त्यही अभावलाई स्वदेशमै आवश्यक दक्ष जनशक्ति उत्पादन गरी परिपूर्ति गर्ने लक्ष्यसहित नेपालमा पहिलोपटक इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्नातकोत्तर तहमा चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिनीयरिङको अध्यापन शुरु गर्न लागिएको छ ।

क्याम्पसले आवश्यक भर्ना कार्यक्रम समेत प्रकाशन गरेको छ । पहिलोपटक २० जनाको कोटा तय भएकाले चैत तेस्रो हप्ताभित्रमा भर्ना कार्यक्रम सम्पन्न गरेर आगामी वैशाख १६ गतेबाट कक्षा सञ्चालन गरिने क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए ।

गत कात्तिकमा सो विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकहरुको सम्मेलन मार्फत स्नातकोत्तर तहको कोर्षको ढाँचामा रहेर चट्टान तथा सुरुङ इञ्जिनीयरिङको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरिएको थियो ।
 
सो पाठ्यक्रमलाई इञ्जिनीयरिङ अध्ययन संस्थान सिभिल इञ्जिनीयरिङ विषय समितिले अन्तिम रूप दिएको थियो । त्यसलाई विद्या परिषद्मा लगेर त्यहाँबाट पाठ्यक्रम स्वीकृत भएपछि त्रिवि कार्यकारी परिषद्ले कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गरेको बताइन्छ ।

स्नातकोत्तर तहमा भौगोलिक अवस्थाको अन्वेषण, चट्टान तथा सुरुङ डिजाइन, कन्स्ट्रक्शन, सञ्चालन, मर्मत तथा सुरक्षा लगायतका विषय कोर्षमा समावेश गरिएको छ ।

‘ब्याचलर अफ सिभिल इञ्जिनीयरिङ’को कोर्षमा टनेल इञ्जिनीयरिङका केही विषय अध्यापन हुने भए पनि स्नातकोत्तर तहमा यस विषयलाई मात्र समेटेर पहिलोपटक अध्यापन गर्न लागिएको बताइन्छ । यसबाट स्नातकोत्तर तहमा सो विषय अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता समेत हट्ने भएको छ ।

“नेपाली भौगोलिक अवस्थाअनुसार तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प छैन, त्यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न आवश्यक सम्पूर्ण प्राज्ञिक प्रक्रिया पूरा गरेका छौँ, आगामी वैशाख १६ गतेबाट कक्षा सञ्चालन गर्दछौँ”, क्याम्पस प्रमुख पौडेलले भने ।

गण्डकी प्रदेश सरकार, नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी(एनटिएनयु) विश्वविद्यालय तथा नेपाल टनेलिङ एशोसिएशन लगायतका सङ्घसंस्थाले समेत कार्यक्रम सञ्चालन लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइन्छ ।

क्याम्पसले कार्यक्रम सञ्चालनको तयारी शुरु गरे पनि आवश्यक दरबन्दी तथा ल्याब लगायतका पूर्वाधार अभाव रहेको जनाएको छ । विदेशमा सो विषय अध्यापन गरेर आएकाले सहयोगको प्रतिबद्धता जनाएकाले शुरुआतमा उनीहरुमै निर्भर रहने योजना क्याम्पसको छ ।

विदेशमा रहेका विषयविज्ञ नेपाली तथा विदेशी समेत अध्यापनका लागि आउन इच्छुक रहे पनि त्रिविको न्यून पारिश्रमिकका कारण कठिनाइ भएकाले सरकारले विशेष व्यवस्था गर्नुपर्ने माग क्याम्पसको छ । क्याम्पस प्रमुख पौडेलले भने, “सडक, जलविद्युत, रेलमार्ग तथा अन्य पूर्वाधारका लागि हाम्रोजस्तो भूगोलमा सुरुङ निर्माणको विकल्प छैन, त्यसका लागि देशभित्रै जनशक्ति उत्पादन गर्ने योजना हो । वर्तमान सरकार र प्र्रधानमन्त्रीको इच्छा साकार पार्न हात उठाएका छौँ, सरकारको सहयोग हामीलाई चाहिन्छ ।”
 
गण्डकी प्रदेश सरकारले समेत यस विषयको अध्यापनका लागि शुरुदेखि नै सक्रियता देखाएको थियो । चालू आवको नीति तथा कार्यक्रममा टनेल इञ्जिनीयरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्न रु १० लाख बजेट विनियोजन सरकारले गरेको थियो ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पहाडैपहाड भएको प्रदेशको विकासका लागि इञ्जिनीयरिङको जनशक्ति विकास गर्न सरकारले शुरुआतदेखि नै चासो दिएर सहकार्य गरेको बताउँदै नयाँ विषयको अध्यापनका लागि आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने बताए ।

“रक एण्ड टेनल नेपालका लागि नौलो प्रविधिको पढाइ हो । त्यसका लागि सरकारले क्याम्पससँगको समन्वयमा आवश्यक साधन स्रोत उपलब्ध गराउन प्रतिबद्ध छ”, मन्त्री बस्नेतले भने ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै