• २०८१ बैशाख १६ आइतबार

सम्भोग र समाज

kharibot

यौनको सम्बन्धमा कुरा गर्दा नेपाली समाज सदैव एउटा झिनो पर्दा भित्र बसेर कुरा गर्न चाहन्छ । अनेकन सँग अन्तरंग सम्बन्ध राख्नेहरू पनि यो विषय सुरु हुनेबित्तिकै सतर्क हुन्छन् र आफूलाई बडो भलादमी देखाउने प्रयत्न गर्छन् ।

सेक्स इजुकेसन होस् वा प्रिमेरिटल सेक्स, नेपाली समाज यसलाई एकातिर आवश्यक र उचित पनि ठान्छ, तर यो शिक्षा आफसेआफ सिकुन भन्ने अभिलाषा पनि राख्छन्, जुन सम्भवै छैन । यौन जीवन र जगतको लागि अनिवार्य कार्य हो । 

सारा चराचर जगत नै प्रकृतिमय छ भने मानिस मात्र यसबाट कदापि अछुतो रहन सक्दैन । सम्भोग केवल सन्तानोत्पतीको लागि मात्र गरिने कार्य भए अन्य जनावरमाझैँ मानिसमा पनि ऋतुकाल हेरेर या उपयुक्त ऋतुकालमा मात्र हुने थियो । तर विधाताले मानिसलाई त्यसरी बनाउँदै बनाएनन् । हामी आफूलाई उन्नत र सभ्य ठान्दछौँ तर हाम्रा पूर्वज यस कुरामा हामीभन्दा धेरै विज्ञ र अगाडि थिए । 

परिवर्तनसंगै सामाजिक सोच र यही अनुरूप कानुनहरू बन्दै गएकाले परापूर्वकालमा जे कुराहरू प्रचलनमा थिए, ती कुराहरू अहिले असभ्य ठानिन्छ । तर गहिरिएर बिचार गर्ने हो भने त्यो समयको स्वतन्त्रता र स्वच्छन्दता पनि मर्यादित र प्रेमपूर्ण थियो, त्यसैले समाजले त्यसलाई स्वीकार गर्यो  ।

त्यसैले सम्भोग नराम्रो या घृणित कार्य हुँदै होइन । किन भने हाम्रा पूर्वजहरूले यसै विषयमा कामसुत्र र कोकशास्त्र मात्र होइन, पञ्चसायक, नागरसर्वस्व, रतिमञ्जरी, रतिरहस्य, अनङ्गगरङ्ग आदि शास्त्र लेखेका छन् भने भगवान् बुद्धले पनि अठ्ठकवगमा कामसुत्रको उपदेश दिएका छन् ।

यदि सम्भोग पापकर्म भएको भए ८४ आसनको वर्णन र स्त्री पुरुषको वर्गिकरण सहित कामसुत्र लेखिने थिएन होला । चाहे रोमको सभ्यता होस् या चीनको, चाहे इजिप्टको सभ्यता होस् या सिन्धुघाँटीको सभ्यता, या यी सबैको संस्कृति, सबैमा स्पट या गौण रूपमा सम्भोगलाई एक अपरिहार्य तत्वको रूपमा वर्णन गरिएको छ । यी सबै सभ्यतामा पाइने भित्ते चित्र, मूर्ती या पुस्तकहरूले सम्भोगलाई प्राथमिकता दिएको पाइन्छ । सिन्धुघाँटिका अनार्यहरू लिङ्ग पूजक थिए । 

शिवलिंगको स्वरूप नर र मादा प्रजनन अङ्गको मिलापकै छ । सुरुमा आर्यनहरू भारतवर्षका अनार्यहरूलाई लिङ्ग पूजक भनेर घृणा गर्थे । उनीहरूले "हरेक सृष्टिको तत्त्व  यही लिङ्ग र योनीको समायोजन पश्चात् मात्र हुन्छ" भनेर बुझेकै थिएनन् । तर पछि जब बुझ्दै गए, यसलाई बिस्तारै स्विकारिदै गयो । भगवद गीतामा लेखिएको “देहवासनाय अतृप्तीः इति आत्महिंसाः पापाय समः” श्लोकले "देहवासनालाई अतृप्त राख्नु आत्महिंसा जस्तै पाप हो" भनेपछि अरू केही भन्नु नपर्ला । तर अशुद्ध मनले, विकार भावले, या बलजफती र हिंसायुक्त संभोगलाई भने पाप पनि मानिएको छ ।

शीतकाल समाप्ति पश्चात् सुरु हुने वसन्त ऋतुलाई ऋतुहरूको राजा भनिन्छ । यस ऋतुलाई अन्य पाँचै ऋतुका आठ आठ दिन निकालेर ४० दिनको बनाइएको छ । चैत्र प्रतिपदाको चालिस दिन पूर्व माघ शुक्लपंचमीको दिन नै वसन्त आगमनलाई अभिनन्दित गरिन्छ । वसन्तको सुरुवातसँगै रुख बिरुवाहरूले रूप फेर्न थाल्छन् । 

अनेकन रङ्गिन फूलहरू, त्यसमा गुञ्जन गर्दै डुल्ने भवराहरू, पुतलीहरूको सुन्दर उडान, शीतल पवनको बहाव, चारैतिर हरियाली र नयाँ फुलेका फुलहरूको सुगन्धले वातावरणलाई मादक र आकर्षक पार्दछ । प्रकृति र मानवको गहिरो सम्बन्धका कारण वसन्तले मानिसमा मोह उत्पन्न गराउँछ,  सौन्दर्य र मादकताको प्रभावले मानिसको हृदयमा प्रेमभाव जगाउँछ र मानिसलाई हरेक कुरा सुन्दर लाग्न थाल्दछ । पञ्चतत्वले बनेको मानवको प्रबृतिमा बदलाव लेराउँछ ।

फलस्वरूप नयाँ उमङ्ग, नयाँ जोस र नयाँ इच्छाहरू मनमा पलाउँन थाल्दछ । मानवमा लेराएको उमङ्ग र मादकताको प्रभावले मानिसमा मोह पैदा गर्दछ । फलस्वरूप मनमा प्रेमरसको अत्यधिक उत्पादन हुन्छ ।

सौन्दर्य रस श्रृंगारसँग जोडिएको हुन्छ र श्रृंगारको मूल तत्त्व भनेको प्रेम हो । मादकताको असरले कामनाहरू उब्जन्छन् र कामनाको गूढ तत्त्व या कामनाको एक रूप कामभाव पनि हो । काम भावलाई हिन्दु धर्म ग्रन्थहरूमा जीवनको चार पुरुषार्थ मध्येको एक पुरुषार्थ मानेर व्याख्या गरिएको छ ।

वसन्त ऋतुमा सरश्वती पूजाको मात्र हैन मदनोत्सव अथार्त शिवले भष्म गरिदिएका कामदेवको पनि  पूजन हुन्छ । पहिले हिन्दु युवायुवतीहरू खुल्ला रूपमा उन्मत्त भएर यस पर्वलाई मनाउँथे, भेटिएका जो कोहीलाई पनि अबिर र रङ्ग दलेर रङ्गिन पारिदिन्थे र आफू पनि रङ्गिएका हुन्थे । घर घरमा मिठो पकवान बनेका हुन्थे, मासुका विभिन्न परिकार बनेका हुन्थे, मदिराका घडाहरू यथेष्ट राखिएका हुन्थे । हरेकलाई  हरेकले स्वागत गर्दथे । खान्थे, प्युँथे, आफूलाई मनपर्ने जोडी रोजेर मित्रहरूसँग घुमफिर गर्थे, मदिरा प्युँथे र इच्छा लागेमा संम्भोग पनि गर्दथे । 

वात्सायनले कामसुत्रमा मदनोत्सवको वर्णन गरेका छन् । सौन्दर्य र सम्भोग आपसमा यसरी जोडिएको छ कि युधिष्ठिले समेत "नरो वा कुंजरो .." भन्दा पहिले नै झुठो बोलेका छन् :

एष नः समयो राजन् रत्नस्य सहभोजनम्
न च तं हातु मिच्छामः समयं राज सत्तम 

"हे राजन रत्नको एकसाथ भोग गर्नु हाम्रो नियम छ । हे राजाहरूमा श्रेष्ठ, हामी यस नियमलाई छोड्न चाहदैनौं ।" आदिपर्व अध्याय १९६ श्लोक २५ द्रौपदीको रूप लावण्यबाट मोहित युधिष्ठिरले यहाँ पहिलो झुठ बोलेका छन् । यदि उक्त कुरा सत्य हुँदो हो त अर्जुनव्दारा बिजित सुभद्रा, उलुपी र भीम व्दारा बिजित हिडिम्बा चैँ किन पञ्चभोग्या भएनन् !

महाभारत, पुराण आदिमा वर्णित अनगिन्ती कथाहरूमा प्रिमेरिटल सेक्सलाई जुन सम्मान र पवित्र प्रेमको दर्जा दिएको त्यो सत्यलाई नकार्न सकिन्न । परासर ऋषिसंग समागम गरेर व्यास जन्माएकी मत्यगन्धा ऋषिको आशीर्वादपछि योजनगन्धा बनिन शान्तनु (भिष्मका पिता) व्दारा ग्राह्य भएको कुराले प्रिमेरिटल सेक्स नराम्रो थिएन भन्ने स्विकार्नु पर्दछ । सूर्य र कुन्तीका पुत्र कर्ण, दुष्यन्त र शाकुन्तलाका पुत्र भरत, परासर र मत्यसगन्धाका पुत्र व्यास आदि पनि यसैका उदाहरण हुन् ।

वाणासुर र कृष्णको युद्ध पछाडिको कारण पनि उषा र कृष्णपुत्र अनिरुद्रको प्रिमेरिटल सेक्स नै थियो । पाण्डुले कण्व ऋषिबाट श्राप पाउनुको कारण पनि ऋषि र ऋषिपत्नी बीच सम्भोगरत् अवस्थामा भएको खलल र मृत्यु नै थियो । मानिसमा सम्भोग विशेषतः विवेकसँग गासिएको कुरा हो ।

पश्चिममा विवेक नष्टगर्ने मानिएको किउपिट देवतालाई अन्धो मानिएझैँ कामदेवको आँखामा पनि सुनको पट्टि बाँधिकाएको वर्णन पाइन्छ । अर्थात् कामदेवलाई पनि विवेकसँग जोडिएर हेर्ने गरिएकोले नै होला ! सेक्सलाई त्यतिवेला र अहिले पनि विवेकसँग जोडिने गरिन्छ । अर्थात् विवेकपूर्ण रूपमा गरिएको सम्भोगलाई निस्कृष्ट ठान्नु गलत हुन्छ । यसैले अहिले संसारभर नै प्रचलित वन नाइट स्ट्याण्डको अवधारणा त्यो वेला नै कायम थियो भन्न सकिन्छ । 

सम्भोगलाई देहिक सुखको रूपमा मात्र नलिएर यसलाई पुरुषार्थ र वंशविस्तारको लागि पनि आवश्यक ठानिएको छ । शास्त्रले पितृ ऋणबाट उन्मुक्त नभएको, गृहस्थ जीवन यापन नगरेको, सण्ढ (नपुंसक) र सन्तानहीन ब्रम्हलोकको हकवाला नभएको उल्लेख गरेको छ । यसै कारण नियोग प्रथाको प्रचलन भएको हो । सन्तानहिन पाण्डु ब्रम्हलोकको मोहकै कारण नियोगव्दारा सन्तान प्राप्त गर्न लालायित भएका थिए । पाण्डुको मनोकांक्षा बुझेकी कुन्ती मानिनन् र भन्छिन् :

नमामहसि धम्र्मज्ञ बक्तुमेवं कथंचन
धम्र्मपत्नीमभिरतां त्वयिराजीवलोचने
त्वमेवतु महाबाहो मय्यपत्यानि भारत
वीर विर्योपपन्नानि धम्र्मतोजनयिष्यसि
स्वर्ग मनुजर्शूल गच्छेयं सहिता त्वया
अपत्याय च मां गच्छ त्वमेव कुरुनन्दन
न ह्यहं मनसाप्यन्यं गच्छेयं त्वहदयते नरम्
त्वत्तः प्रतिबिशिष्टश्च को न्यो स्ति भुविमानवः

"हे धर्मज्ञाता, म तपाईँकी धर्मपत्नि हुँ र कमलझैँ आँखा भएका तपाईँलाई प्रेम गर्छु । मैले तपाईँसँग यस्तो कुरा गर्न सुहाउँदैन । हे महाबाहु वीर भारत धर्मानुसार तपाईँ नै आफ्नोे वीर्यले मव्दारा सन्तान उत्पन्न गर्नुहोस् । हे पुरुषसिंह यसो गरे मात्र म याँहाको साथ स्वर्ग जान सक्छु ।" 

तर पाण्डु नपुंसक र स्नायु रोगी भएकाले उनबाट सन्तान हुने कुरै भएन । यसैले कुन्ती नियोगव्दारा सन्तान जन्माउन राजी हुन्छिन् । अन्ततः ऋषी दुर्वासाबाट देवहूती बिद्या (बसीकण, सम्मोहन मन्त्र) पाएकी कुन्ती धर्मराज, वायु र इन्द्रद्वारा नियोगबाट तीन पुत्र जन्माउँछिन् । तर जब पाण्डु चौथो सन्तानको कामना गर्छन्, तब कुन्ती भन्छिन् :

नातश्चतुर्थ प्रसवमापत्स्वपि बदन्तत्युत
अतः परं स्वैरिणीस्याद् बन्की पञ्चमे भवेत्
स त्वं बिव्दन् धम्र्ममिम भधिगम्य कथं नु माम्
अपत्यार्थ समुत्क्रम्य प्रमादादिव भाषसे ।

"बुद्धिमान आपतकालमा पनि चौथो प्रसव सन्तानको प्रशंसा गर्दैनन्, किनभने चौथो पुरुषसँग समागम गरे स्त्री व्यभिचारिणी र पाँचौ पुरुषसँग गमन गरे वेश्या हुन्छे ।" 

कुन्तीले यहाँ आफ्नो रहस्य उजागर गरिसकेकी छिन् । सूर्य प्रथम पति, पाण्डु दोश्रो र धर्मराज वायु र इन्द्र गरेर कुन्तीको पाँच पति भइसकेकोले उनले अन्य पुत्र जन्माउन अस्वीकार गरेकी हुन् । त्यसैले उनले देवहूती विद्या माद्रीलाई सिकाइन् र उनीबाट नहकुल र सहदेव जुम्ल्याहा जन्मे ।  

त्यतिवेला नियोग प्रथा सबैले ससम्मान उपभोग गर्दथे । 

आ धा ता गच्छानुत्तरा युगानि यत्र जामयः कृराण्वन्जामि
उप बर्बृपह वृषभाय वाहुमन्यमिच्छस्व सुभगे पति मत् ऋग्वेद १० १० १०

"नपुंसक पति भन्छ, हे देवी, तिमी मबाट सन्तानको आशा नगर, हे सौभाग्यशालिनी, तिमी कुनै वीर्यवान पुरुषको सहारा लेऊ र मलाई छाडि अन्य पतिको इच्छा गर ।"

तर नियोगका पनि केही नियमहरू छन् । नियोग आफ्नो वर्ण (जात होइन) या उत्तम वर्णको पुरुषव्दारा मात्र अनुमति दिइएको छ भने विवाहित पुरुषले अविवाहित स्त्रिसंग नियोग वर्जित मानिएको छ । मनुस्मृतिको  शुक्त ९.९५ मा यस्तो लेखिएको छ :

देवराव्दा सपिण्डाव्दा स्त्रिया सम्यड.नियुक्त्या
प्रजेप्सिताधिगन्तव्या सन्तानस्य परिक्षये  

अर्थात् ७ पुस्तासम्म सपिण्ड, १४ पुस्तासम्म समानोदक, २१ पुस्तासम्म सगोत्र र त्यसपछि बाँकी गोत्रज मानिन्छ । यस आधारमा हेर्ने हो भने व्यासले अम्बिका र अम्बालिकालाई गरेको नियोग सोह्रै आना अनुचित ठहर्छ । नियोग राजपरिवार या सामान्यजनमा मात्र सीमित थिएन, यो ऋषिहरूमा पनि मान्य प्रथा थियो । दीर्घतम ऋषिको काम नै नियोग गर्ने थियो भने वशिष्ठले पनि कल्मासपाद ऋषिकी पत्नीलाई धर्मानुसार नियोगव्दारा गर्भवती बनाएका थिए ।

सम्भोग सृष्टिचक्रलाई निरन्तरता दिने कार्य भएकोले हरेक पिढिले यसलाई अवलम्बन गर्दै आएको छ । समाजको वैचारिक स्तर अनुसार कतिपय पुरातन मान्यता, सोच र व्यवहारलाई बन्देज लगाइए पनि गुप्त रूपमा ती कार्यहरू नभएका या नगरिने भने होइनन् ।

बहुसम्भोग, मुख मैथुन, गुदा मैथुन, गे, लेस्वियन आदि परापूर्व कालमा पनि गरिएका र भएका थिए, हाल पनि गरिन्छन्, छन् । फरक यत्ति हो, पहिले यसलाई पवित्र या मर्यादित मानिन्थ्यो भने अहिले सामाजिक रूपमा असभ्य कार्य मानिन्छ । जे भए पनि युगौँदेखि मान्य सम्भोग अनावश्यक या अमर्यादित कार्य भने होइन । यो समाज र हरेक वर्ग र स्तरका व्यक्तिहरूको लागि अत्यावश्यक कार्य हो ।

समाज प्रकृतिको विपरीत नजाउन भन्नका लागि नै हरेक सभ्यताका मन्दिर र देवालयहरूमा विभिन्न सम्भोग आसनहरूलाई मूर्ती, चित्र या टुँडालमा त्यसै कुँदिएको भने होइन । घाटमा मुर्दा जलाउँँदा उत्पन्न हुने मसान वैराग्यबाट श्रृष्टि नारोकियोस भन्ने उदेश्यले बनाईएका याैनका क्रियाकलापका यस्ता टुँडाल देख्दैमा तत्कालीन समाजलाई व्यभिचारी भन्न मिल्दैन । त्यतिवेलाको समाजले यसलाई अनेकन कारण या धारणहरूले सहजै स्विकारेका छन् ।

यस आधारमा हाम्रा पुर्खा वास्तवमै खुल्ला हृदयका स्वच्छन्द र सभ्य थिए भन्न सकिन्छ । 

काशीका रजापण्डितकी पुत्री हेमतीको सौन्दर्यमा मोहित चन्द्रदेव (वास्तविकमा कोही अन्य पुरुष जो हेमवतीको रूपबाट मुग्ध भए र विधवा हेमवती पनि अतृप्त कामज्वरबाट {Being horny को लागि कति मीठो शब्द} पीडित भएकीले समागम भयो) ले समागम गरे । आफू विधवा र एक छोराकी आमा भएकीले समाजको अपहेलनाबाट खजुरपुरा गइन् । यिनीबाट चन्द्रवर्मनको जन्म भयो र यिनै चन्दवर्मनले खजुरापुरमा शिव मंदिर बनाएर त्यसका हरेक भित्तामा कामसुत्रका संभोगको विभिन्न मूर्ती बनाउन लगाए । 

मन्दिरका टुँडालहरूमा सम्भोगरत बुट्टा कुँदनुका पछाडि विभिन्न धारणाहरु छन् । तात्कालिन हिन्दु र बौद्ध धर्माबलम्बीहरुमा सांसारिक वितृष्णा जागेर जोगी या भिक्षु बन्ने प्रक्रिया रोक्न यस्ता टुँडाल बनाएको मत मान्ने धेरै छन् । बज्रयान र कुण्डलिनी योगलाई आधार मानेर यस्ता टुँडाल बनाइएको हो भन्ने पनि छन् । 

इन्द्रकी कुमारी छोरी यामिनी (चट्याङ)ले मन्दिर नजलाउन भन्ने धारणाले पनि यस्ता टुँडाल बनाएको मानिन्छ । धारणा र कारण जे सुकै भए पनि वास्तवमा यो संसारबाट कोही विमुख नहुन्, मसान बैराग्यका कारण श्रृष्टि नरोकियोस र जन्म र मृत्युबीच अत्यावश्यक सम्भोग कार्यबाट कोही विमुख नहुन् भन्ने अभिप्राय नै प्रमुख देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै