• २०८१ बैशाख २१ शुक्रबार

कसरी हुन्छ स्तन क्यान्सर : के के हुन्छन् लक्षण ?

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । स्तनमा गाँठो, गिर्खा आउनु स्तन क्यान्सरको लक्षण हुन सक्छ । स्तनमा कुनै असामान्य अवस्था त छैन भनी शंका लागेको अवस्थामा स्तनको परीक्षण गर्नु आवश्यक छ ।

स्तनमा कुनै किसिमको गाँठो त छैन भनी आफै निरीक्षण गर्न सकिन्छ । यस्तो गाँठोले पीडा नदिन पनि सक्ने भएकाले कतिपय महिला यसलाई खासै वास्ता गर्दैनन् । यस्तो गाँठो स्तनको कुनै पनि भागमा अथवा स्तनवरिपरि हुन सक्छ । धेरैजसो काखीको छेउमा यस्तो गाँठो आउने गर्छ । यदि स्तनमा अथवा यसको वरिपरि कुनै पनि किसिमको गाँठो छ भने

तुरुन्त चिकित्सकसँग सल्लाह लिनु आवश्यक छ । स्तन क्यान्सर भएको छ भने स्तनको आकार बढेर दुई स्तनको आकार फरक हुन सक्छ । 

स्तनको टुप्पोमा असाधारण परिवर्तन 

स्तनको टुप्पोमा असामान्य परिवर्तन देखिएको छ र यसको कारण थाहा पाउन सकिएको छैन भने यो पनि स्तन क्यान्सरको लक्षण हुन सक्छ । स्तनको टुप्पोको दिशा परिवर्तन भएको छ, भित्र दबिँदै गएको छ अथवा आफ्नो स्थानमा सामान्य रुपमा छैन भने यो स्तन क्यान्सरको लक्षण हो । 

छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु

त्यस्तै, स्तनको छालाको रङ असाधारण रुपले परिवर्तन हुनु पनि स्तन क्यान्सरको लक्षण हो । यदि स्तनको रङ रातो अथवा असाधारण देखिन थालेको छ भने परीक्षण गराउनु अत्यन्त आवश्यक छ । त्यस्तै, क्यान्सर लागिसकेको छ भने स्तनको टुप्पोको अथवा वरिपरिको छाला खुइलिन थाल्छ । 

असामान्य रुपले दूध, पानी अथवा रगत आउनु

स्तन क्यान्सर भएको छ भने स्तनबाट असाधारण रुपले दूध अथवा पानी बग्न थाल्छ । त्यस्तै, क्यान्सरले प्राथमिक चरण पार गरिसकेको छ भने गाँठो अथवा गिर्खा बढ्दै गएर स्तनबाट रगत पनि आउन थाल्छ । 

स्तन, हाडजोर्नीमा पीडा हुनु, घाउ हुनु, शरीरको तौल घट्न थाल्नु 

क्यान्सरले प्रारम्भिक चरण पार गरिसकेको छ भने स्तनमा असामान्य रुपले पीडा हुन थाल्छ । त्यस्तै, हाडजोर्नीमा दुख्ने, शरीर झमझमाउने, कमजोर महसूस हुने र असाधारण रुपले शरीरको तौल घट्दै जान थाल्छ । शरीरको तौल घटाउने महिलाहरुको सोख हुन सक्छ । शरीरको तौल घट्दै गएको छ भनी मख्ख नपरी खानामा कमी नगरी र कुनै पनि व्यायाम नगरी शरीरको तौल घट्दै गएको छ भने यो स्तन क्यान्सरको लक्षण हुन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ । 

डाक्टरको सल्लाहअनुसार मेमोग्रामको माध्यमले स्तन क्यान्सरको परीक्षण गर्न सकिन्छ । मेमोग्रामको उपयोग गरी स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सकिन्छ ।

स्तन क्यान्सरको कारण 

शरीरको कुनै पनि अंगमा हुने कोशिका अनियन्त्रित रुपमा बढ्नु नै क्यान्सरको प्रमुख कारण हो । शरीरको आवश्यकताअनुसार कोशिकाहरु विभाजित हुन्छन् । तर, यदि कोशिकाहरु लगातार बढिरहे भने यसले क्यान्सरको रुप लिन सक्छ । त्यस्तै, स्तनका कोशिकाहरु अनियन्त्रित रुपमा बढ्नु स्तन क्यान्सरको मुख्य कारण हो । अनियन्त्रित रुपमा कोशिकाहरु बढेर जम्मा भएपछि गाँठोको रुप लिन्छ । यसलाई क्यान्सरको ट्युमर पनि भनिन्छ । 

स्तन क्यान्सरका अन्य कारकहरु 

बच्चा नजन्माउनु अथवा उमेर ढल्किसकेपछि बच्च जन्माउनु

स्तनपान नगराउनु

जेनेटिक अथवा आनुवंशिक कारण 

गर्भनिरोधक औषधिको बढी सेवन

१२ वर्षभन्दा कम उमेरमा मासिक धर्म सुरु हुनु

पहिला क्यान्सर भइसकेको छ भने

तौल धेरै हुनु

शरीरलाई निष्क्रिय राख्नु

धूमपान र मद्यपान

जंक फुड अथवा तयारी, प्याक गरिएका खाना खानु

स्तन क्यान्सरबाट बच्ने उपाय 

नियमित रुपमा व्यायाम, योग गर्नाले शरीरमा रक्तकोशिकाहरु अनावश्यक रुपमा जम्मा हुन पाउँदैनन् र यसले क्यान्सरको सम्भावनालाई कम गरिदिन्छ । समयमा नै बच्चा जन्माएर नियमित रुपमा स्तनपान गराउने महिलालाई क्यान्सर रोग लाग्ने सम्भावना कम रहन्छ । क्यान्सर भइसकेका महिलामा आत्मविश्वासको कमी हुन सक्ने भएकाले उनीहरुले आफ्नो मनको कुरा नजिकको साथी, जीवनसाथी, इष्टमित्र अथवा कसैलाई भन्नु आवश्यक हुन्छ । घरपरिवारले पनि यस रोगलाई सामान्य रूपमा लिई रोगबाट पीडितलाई हौसला दिने हो भने पीडितहरू फेरि तनावरहित स्वस्थ जीवन जिउन सक्छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै