Skip This

प्याजको कथा

खरीबोट

सुरक्षा बर्तौला

आज प्याजको कथा सुनाउँछु है । 

पहिले - पहिले प्याज काट्दा रुनुपर्थ्यो तर अब त प्याज किन्न नै रुनुपर्ने भएको छ। प्याज सम्झिँदा रमाइला किस्साहरु पनि सम्झिन्छु म।

सानो छँदा भान्छामा ममीलाई सघाउँदा लसुन केलाउने, प्याज काट्ने जस्ता सानाेतिनाे काम गर्नुपर्ने हुन्थ्यो। भन्नलाई सानो तिनो काम भनिए पनि प्याज काट्ने काम सानो मान्दैन थिएँ म। किनकि असाध्यै पिरो मान्छ मेरो आँखाले प्याजको राग। सानो तिनो युद्धनै जिते झै पो लाग्थ्यो त बर्बरी आँखाबाट आँसुको धारा बगाऊँदै ममीले काट्ने जिम्मा दिनुभएको प्याज सबै काटेर बुझाइसक्दा। प्याज काट्दा पिरो नहुने अनेक उपाय सुझाउँथे बुढापाका हजुरबुबा, हजुरआमा, काकी, ठुलीआमाहरु। कोहि प्याजको बोक्रा कानमा सिउरेर काटे पिरो हुन्न भन्थे, त कोहि प्याजको फेद काटेर खुट्टाले कुल्चिए पिरो नहुने सिकाउँथे। अनि कोहि चाँहि प्याज दुई टुक्रा पारेर पानीमा एकछिन डुबाएर काट्न सिकाउँथे।

अहिलेको स्थिति फरक छ। अब प्याज काट्न हैन किन्नलाई सोच्नुपर्ने भएको छ। पिरो नहुने उपाएको सट्टा प्याजको विकल्प सोच्नु पर्ने भएको छ।

कहिले काहीँ प्याज काट्दा हामी रमाईलाे पनि गर्थ्यौँ। कुरा के भने हामी काठमाडौं बस्नथालेको अलि समय पछि दिदी आउनुभएको थियो, उँहाको आफ्नो केही व्यक्तिगत कामको लागि। बेलुकाको खाना बनाउने बेला थियो। सबैजना आ-आफ्नो कामबाट साँझ मात्रै जम्मा भयौं, सबैलाई भोक लागिसकेको थियो र ढिला नगरी खाना बनाउनमै लाग्यौं। दिदीको भागमा पर्यो, प्याज काट्ने काम। दिदीलाई पनि प्याजको राग औधी पिरो हुने फेरि! प्याजको बोक्रा केलाउदाबाटै आँखा चिम्चिम् गर्न थाल्नु भयो दिदी त! जिस्क्याउँदै दिदीलाई सोधे, "हजुरबाको याद आको हो दिदि ?"

दिदी पनि जिस्किएरै ग्वा-ग्वा आवाज निकालेर, हजुरबा-हजुरबा भन्न थाल्नु भो! हामी मरि - मरि हास्दै थियौं छिमेकी आन्टी त ढोकामा आएर अलि आतिएको स्वरमा सोध्नु भयो, "के भयो नानी ?"

हासोको बाँधलाई हातले एकैछिन थुनेर आन्टीलाई जवाफ दिएँ, "केही होइन आन्टी !"

हाम्रो हजुरबा, हाम्रो बाबा सानै हुँदा स्वर्गिय हुनुभएको, उँहाको ब्ल्याक एण्ड ह्वाईट फोटोमा देखिने धमिलो आकृतिमै सिमित हुनुहुन्छ हाम्रालागी हाम्रो घरको हजुरबा। खैर, त्यस घटनापछि, धमिलो आकृतिकै भएपनि प्याज काट्दा सँधै हजुरबाको याद आउछ । 

डेरा आइपुगेर यता उता गर्दा गर्दै नौं नै पो बज्न लागिसक्या रहेछ! दूध र तरकारी किन्न जानै बाकिँ थियो। अचेल चिसो बढेर तरकारी पसलहरु ८ बजे नै बन्द भइसकेका हुन्थे, तै पनि निस्किएँ, तरकारी बजारतिरै।

नक्सालको नन्दी स्कुलसँगै जोडिएको सब्जीमण्डी हामिलाई सबैभन्दा नजिक पर्ने तरकारी बजार हो। त्यहाँ याङ्जी आमाको तरकारी पसल छ। खै किन हो कुन्नी मलाई खुब माया गर्नुहुन्छ उहाँले। तरकारी किन्ने भन्दा धेरै समय म उहाँसँग गफ गर्छु। रमाईलो मान्छे लाग्नुहुन्छ मलाई उहाँ। कुन कुराको जवाफ कस्तो आउछ पत्तै हुँदैन, उँहाको मुड अनुसार आफै विचार पुर्याउनु पर्छ, गफ गर्दा। 

जे होस म पुग्दा याङ्जी आमाको पसल खुलेकै रहेछ। पसलमा अर्कि एकजना म जस्तै ढिलो आइपुग्ने आन्टी पनि रहेछन्। आन्टी प्याजको भाउ बढेकोमा गुनासो गर्दै हुनुहुन्थ्यो "हिजो आज त प्याज राख्ने भाडो पनि खाली नै हुन्छ। भोली छोरीको बर्थडे छ अब यो लसुन, प्याज नहाले अचार- तरकारी मिठै हुँदैन, के गर्नु !"

हुन पनि हिजोआज प्याजको मूल्य आकासिएको छ। छिमेकमा, कार्यालयमा, बसमा, बजारमा जताततै प्याजको मात्रै चर्चा सुनिन्छ।

समाचारमा त पढेको पनि हो "प्याजको मुल्य २५० पुग्यो!"

"चोरले प्याज चोरे तर पैसा चोरेनन्, पैसा भन्दा प्याज अमुल्य!" तैपनि सोधेँ "प्याज कसरी छ आमा अहिले किलो को?"

याङ्जी आमाले भन्नूभयो "२०० मा बेचेको हो १९० मा लानुन"

"लाने हैन आमा सोधेको मात्रै हो " मैले भनेँ, "बजारको हल्लाभन्दा त सस्तो रेछ त प्याज!,"

फेरि उहाँले भन्नुभयो "१०० रुपे हुँदा सम्म त बिक्रि हुन्थ्यो अहिले त छैन, एक बोरा ल्याको १५ दिन हुन लाइसक्यो। १ किलो लाने मान्छेले १ पाउ लान्छ पो!"

अलि अस्तिनै एस्तै एक साँझ, त्यतिबेला प्याज ९० रुपैयाँ किलो पुगेको थियो। अनि अरु तरकारी पनि महङ्गिएको बेला थियो। तरकारी किन्न भनेर म याङ्जी आमाको मा पुगेकी थिएँ।

एकजना मानिस हिन्दी भाषा बोलेर तरकारीको मुल्य सोध्दै रहेछन्। उनले २/३ थरी तरकारीको मूल्य पालैसँग सोधे तर याङ्जी आमाले केहि जवाफ दिईरहनु भएकै थिएन । 

अलि बेरपछि, चित्त नबुझेको आवाजमा याङ्जी आमाले भन्नुभयो "आइ डन्ट स्पिक हिन्दी, आइ ओन्ली स्पिक नेपाली एन्ड इङ्लिस, नाउ अ डेज भेजिटेबल्स आर एक्स्पेन्सिभ!"

उहाँले यति शब्द बोल्दा कतै नरोकीएरै बोल्नु भयो। तामाङ लवजमा याङ्जी आमाले बोलेको इङ्लिस चैँ बडो मिठो लाग्यो मलाई।

ती हिन्दी बोल्ने मानिस त्यहाँबाट गैसकेपछि सोधेँको थिएँ "किन रिसाउनु भा'को त्यो मान्छेले हिन्दी बोल्दा?"

"जो पनि आउँछ तरकारीको दाम सोध्छ जान्छ, हाम्ले बढाको होर!"

"ए त्यस्तो भएर पो रिसाउनुभाको?" मैले भने

हिन्दी बुझ्छ फर्काउन आउँदैन त्यही भएर" उहाँले यसो भन्नुभयो। 

फेरि सोधेँ मैले "अनि इङ्लिस चै कसरी आयो नि, मज्जाले बोल्दिनु भयो त?"

अलि लजाए झै गरेर याङ्जी आमाले भन्नुभयो "आपुइ हैन होला पो!" फेरि अलिकती हाँस्दै "पढेको त छाइन, बिदेशीको घरमा काम गर्थ्यो पहिला, अलि अलि जान्यो!"

नेपाली बजारमा तरकारीको मूल्य बढ्दा किन्ने र बेच्ने दुबैलाई उत्तिकै झिँझो लाग्ने रहेछ। नेपालमा मात्रै हैन अहिले प्याजको मूल्य वृद्धिको आतंक भारत, बङ्लादेश लगायत दक्षिण एसियामा नै फैलिएको छ। युरोप अमेरिकाका सम्भ्रान्त मुलुकहरुमा त दैनिक उपभोगका बस्तुको मूल्य बढ्दा वा भनौँ, माग र पुर्तिको सन्तुलन मिलाउन नसक्दा सत्ता नै ढल्छ क्यारे!

बङ्लादेशका प्रधानमन्त्रीले पनि प्याजको मूल्य यसरी बढेपछि प्याज खानै छोडेको समाचार आएको छ।

यहि बीचमा मेरो मनमा एउटा प्रश्न उब्जिएको छ - हाम्रो बालुवाटारमा चैँ अचेल प्याज कत्तिको खपत हुँदो हो ?

सम्बन्धित समाचार

बाबा खै त टुँडिखेल ?

एकादेशमा एउटा काठमाडौं भन्ने सहर थियो, त्यो शहरको बीचमा एउटा टुँडिखेल नाम गरेको विशाल चौर थियो रे ! सहरका मानिसहरुलाई हावा खाने ठाउँ, थकाई लाग्दा सुस्ताउन, फुर्सदमा टहलिन, जात्रा मनाउन

निष्ठुरी सुकुटे, तिमिले अन्याय गर्यौ !

''कसलाई के थाहा भोलिको झोलिमा के छ ? जिन्दगीमा अनेक घुम्तिहरु आउछन् र बाटो नै मोडिदिन्छन्। गर्भमा रोपिए देखि कात्रोमा छोपिदा सम्मका अनेकौँ मोडहरुमा अनेकौँ रहस्य'' जी.एस. पौडेलको उपन्यास एकसर्को


z