• २०८१ बैशाख १६ आइतबार

मनको छाउगोठ

kharibot

एउटा निश्चित उमेर पश्चात स्त्री शरिरमा रजस्वला प्रक्रिया शुरु हुन्छ । यसको सन्तुलन गर्ने काम हाम्रो शरिरमा भएका हर्मोनहरुले गर्दछ । रजस्वला प्रकृया शुरु भएपछि महिलाको पाठेघरको भित्रि भागमा रगत र तन्तुहरु जम्मा भएर एउटा तह बनेको हुन्छ, जुन सुरक्षीत गर्भासयको लागि आवश्यक पर्दछ । गर्भ नरहेको अवस्थामा पाठेघरको भित्रि भागमा जम्मा भएको रगत निष्कासन प्रकिया नै रजस्वला हो । यो मासिक प्रक्रिया हो र यसलाई महिनावारी पनि भनिन्छ ।

महिनावारीको विषयमा यी सबै कुरा बुझेकी म, मेरो महिनावारीको समयमा कुनै मन्दिर जान, पुजा गर्न वा भगवानलाई ढोग्न हिच्किचाउछु । किन भने म भित्र एउटा डर छ । मलाई पाप लाग्छ भन्ने डर ! तर मलाई थाहा छैन त्यो पाप के हो, किन र कसरी लाग्छ ? यी प्रश्नहरुको जवाफ न मसँग छ, न मलाई पापको डर देखाउनेहरुसँग नै ।

मलाई याद छ, मेरो पहिलो महिनावारी । पहिलो महिनावारी भएको वर्ष तिजमा व्रत बस्नै पर्छ र ऋषि पञ्चमीको दिन नुहाएर पुजा लगाउनै पर्छ भन्ने परम्परा अझै पनि छ मेरो जन्मथलोमा । र म जस्तै अरु दिदिबहिनीहरु पनि खुशी-खुशी रमाइलो मानेर मान्छन् यो परम्परा । त्यस्तैमा मेरो पहिलो महिनावारी भएको वर्ष ऋषि पञ्चमीको दिन सामुहिक रुपमा गर्न लागिएको सप्तऋषिको पुजामा म पनि सामेल भएँ ।

लगभग ३/४ घण्टाको पुजा सकिएपछि पण्डितबाजेले ऋषिपञ्चमीको महिमा सुनाउन लाग्नुभयो । मेरो पहिलो पुजा थियो, म एक्दमै ध्यान दिएर सुनिरहेकी थिएँ । "भगवान इन्द्रले आफुलाई लागेको ब्रह्महत्याको पाप स्त्रीको रजस्वलामा रखिदिएकाले हरेक महिना महिलाहरूमा रजस्वला भएको हो । महिलाहरुमा रजस्वला हुँदाको पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, र तेस्रो दिन धोविनी समान हुन्छन् । रजस्वला नबारे महिलाले बाझी हुनु पर्छ, अर्को जन्ममा कुकुर्नी भएर जन्मनु पर्छ, कुष्ठरोग लाग्छ । त्यो समयमा झुक्किएर कतै छोइएको पाप कटाउनका लागि ऋषि पञ्चमीको पुजा गर्नै पर्छ ।" यति सुनिसकेपछि मलाई मैले पाप गरे वा गरिन थाह थिएन तर मेरो पाप मोक्ष भयो भनेर खुशी भएकी थिएँ ।

मैले मेरो मस्तिष्कले ठम्याउने बेलादेखि देखेको कुरालाई नै सहि मान्दै आएँ । पहिलो महिनावारी हुँदा दाजुभाइ र बुवाको मुख हेरिन, आफ्नो घरमा बसिन र भान्छादेखि पुजापाठको काम पनि केहि गरिन । किनकि मलाई त्यसो गर्न हुँदैन भनिएको थियो । त्यसो गरे पाप लाग्छ भनेर सिकाइएको थियो । मेरो समाज र परिवारले त्यो परम्परा पछ्याएको थियो र त्यो परम्पर पछ्याउनु मेरो परिवारको इज्जतको कुरा थियो । हो ठ्याक्कै यस्तै त गरेका हुन् सुदुर र मध्य पश्चिममा छाउपडी मानेका समाजहरुले पनि । 

हरेक समाजको आफ्नो संस्कृति हुन्छ । फरक समुदायमा फरक संस्कृति र परम्परहरु रहेका हुन्छन् । अनि संस्कृतिले व्यक्तिलाई समाजमा सम्मान दिएको हुन्छ । हरेक व्यक्ति आफ्नो समाजमा सम्मानका साथ बाच्न चाहन्छ । सुदुर र मध्य पश्चिमका केहि जिल्लाहरुमा व्याप्त रहेको छाउपडी प्रथा पनि त्यस्तै एउटा परम्परा हो, संस्कृति हो त्यहाँका मानिसहरुको । यो संस्कृतिको सम्मान गर्नु भनेको समाजमा उनीहरुले सम्मान पाउनु हो ।

समाजका अग्रज र जान्ने बुझ्ने भनौँदाहरुबाटै संस्कार र परम्पराको नाममा महिलाहरुलाई बाध्य पारिन्छ कि, महिनावारी हुँदा घर भित्र पसे अनिष्ट हुन्छ, देउता रिसाउछन् भन्ने जस्ता भ्रममा पारेर छाउगोठसम्म धकेलिइन् । उनिहरुको अघिल्लो पुस्ताले छाउगोठ बस्दै आए, कलिलो मस्तिष्कमा नै आफ्नो आमा, दिदिहरु छाउगोठ बसेको देखे र आफू पनि त्यसै गर्न तयार भए । १/२ दिन वा एकचोटीको महिनावारिमा मात्रै हैन, हरेक महिनावारिका ४/५ दिन छाउगोठमा नै बिताउनु पर्छ उनीहरुले । भोलिको दिन सकुशल बिउँझन पाइन्छ वा पाइदैन भन्ने डर मै आजको रात कटाउनु पर्छ । यद्यपि छाउगोठ उनीहरुको जीवनशैली बनिसकेको छ । हाम्रो लागि कुसंस्कार नै सहि, उनीहरुले संस्कार मनेका छन् ।

जब-जब छाउगोठमा कुनै किशोरी वा महिलाको ज्यान गएको खबर आउँछ तब-तब छाउगोठ मुक्त अभियान शुरु हुन्छ । त्यहाँका छाउगोठहरु भत्काउन थालिन्छ । नतिजा के त भन्दा, केहि समयको अन्तरालपछि उहि स्थानमा छाउगोठ ठड्याइ सकिएको हुन्छ । यो सबै हामीले देख्दा-देख्दै,जान्दा-जान्दै पनि छाउगोठ मुक्त अभियान भन्दै गोठ भत्काउने र बनाउने मुर्खता दोहोर्याइ रहेका छौँ ।

कसैले संस्कृति र जीवन शैली मानेर अङ्गालेको परम्परा झ्वाट्ट कसैले आएर तिम्रो संस्कृति गलत छ, तिमी यसो नगर भन्दैमा फ्याट्ट त्यो परम्परा बन्द हुन्छ भनेर सोच्नु मुर्खता हो ।

पछिल्लो समय फेरी स्थानीय र केन्द्रिय सरकारको सहकार्यमा छाउगोठ भत्काउने अभियान चलेको छ । अभियन्ताहरु पुग्छन्, गोठ भत्काउछन् र  फर्किन्छन् । उनीहरुको यो हर्कतले भत्किएको गोठ संहार गर्नेहरुमा के बित्छ भन्ने कुरा नजर अन्दाज गरेको देखिन्छ। अछाम कै एक महिलाले यसरी गोठ भत्काउने अभियानलाई आफ्नो संस्कृतिको बेईज्जत भएको ठानेकी छन् । गोठसँगै उनीहरुको आस्था पनि भत्किएको छ । नछुने हुँदा घरभित्र बसौँ संस्कार र संस्कार प्रतिको आस्थाले दिदैन, बाहिर गोठ भत्काइएको छ । मनभित्र भरिएको डरले महिनावारीको समयमा घरभित्र बस्ने ठाउँ देख्दैनन् उनीहरू ।

सामान्य शारिरिक प्रक्रियालाई धर्म र देउतासँग जोडेर डरलाग्दो अपराधको रुपमा परिभाषित गरिदिँदा ती क्षेत्रका महिलाहरु महिनावारीको समयमा कष्टकर जीवन बिताउन बाध्य छन् । त्यसो त छाउपडीको विरुद्धमा सरकारले ऎन नियम नबनाएको पनि हैन । नेपालको कानुनमा छाउपडी बार्ने र बार्न लगाउने दुबै अपराध हो भनिएको छ । तर कतिलाई त यसको विरुद्धका कानुन छ भन्ने पनि थाह छैन । थाहा पाएकैहरु पनि उजुरी गर्न चाहदैनन् ।

यदि कुनै महिला आफू छाउ बार्न चाहदिनन् भने पनि उनी आफुलाई छाउ बार्न बाध्य बनाउनेको विरुद्धमा कुनै कदम उठाउन सक्दिनन्, किनकि उनलाई त्यसो गर्न लगाउने उनकै परिवार र समाज हुन्छ । छाउपडी जकडिएको क्षेत्रमा महिनावारीका कुरा बुझाउन नसक्दा ती नियम कानुन पनि देखाउने दात जस्तो मात्रै भएका छन् ।

अब यस्तो परिस्थितिमा हमिले एक/दुई दिनको अभियान लिएर त्यहाँका छाउघरहरु भत्काउनु कत्तिको जाएज हुन्छ ? एक पटक गहन रुपमा सोच्न जरुरी छ । यो त फगत उनिहरुको आस्थामा ठेस पुर्याउने काम मात्रै भइरहेको छ कि जस्तो लाग्छ ।

बरु यसको सट्टामा महिनावारीका विषयमा आवश्यक शिक्षा र ज्ञान दिन सके, महिनावारी के हो ?, कसरी हुन्छ?, सरसफाइ कसरी गर्ने?, स्वस्थ कसरी रहने ? महिनावारी कुनै देवताले दिएको श्राप होइन, यसमा पाप र धर्मको कुरै आउदैन, यो त शारीरिक प्रक्रिया मात्रै हो, भन्ने जस्ता कुरा सरल तरिकाले बुझाउन सके चाँहि हामीले सोचे जस्तै परिवर्तन आउने थियो कि ?  घरदेखि पर बनाइएको छाउगोठको परम्परा मनदेखि पनि पर भएर जने थियो कि ?

महिनावारीलाई नछुने वा छाउको संज्ञा दिएर नछुने बार्ने परम्परा हाम्रो देशको शहर, गाउँ, शिक्षित, अशिक्षित सबैमा व्याप्त छ । महिनवारी, नछुने हुनु, परसर्नु, रजस्वला, छाउ जस्ता नाम दिएर फरक-फरक मान्यतासहित महिनावारी बार्ने चलन छ । 

म घरदेखि बाहिर हुँदा आफै खाना बनाउँछु, आफ्ना सबै काम म आफै गर्छु, महिनावारी हुँदा पनि, नहुँदा पनी । तर महिनावारीको समय घरमा हुँदा भने, म भान्छाको काम गर्दिन । किनकि मेरो हजुराआमा, आमा, काकीलाई मैले त्यसो नगर्दा खुसी लाग्छ । उँहाहरु नछुने बार्नुहुन्छ म आफ्नै हिच्किचाहटका कारण पुजापाठमा बाहेक अरु कुरामा नछुने बार्दिन । म मेरा भावी पुस्तामा, म माथि थोपरिएको जस्तो डर थोपर्ने छैन । अनि कसो नहोला र परिवर्तन ?

तर यसरी गाउँ पसेर छाउगोठ मुक्त अभियान भन्दै आस्था र संस्कृतिसँग जोडिएको गोठ/घर भत्काइरहँदा यसको समाधान अनन्तकाल सम्म पनि हुने देखिदैन । त्यसको लागि सबैभन्दा पहिले मनको डर हटाउन जरुरी छ अनि मात्रै छाउपडी र छाउगोठका डर र घर दुबै आफै भत्किने छन्, प्रहरी लगाएर भत्काउनुपर्ने छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै