• २०८१ असोज १ मंगलबार

सत्यनिरुपण र बेपत्ता आयोगको सिफारिस समितिमा दुई निवेदन

kharibot

काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी सिफारिस समिति समितिमा दुई निवेदन परेको छ ।

सिफारिस समितिको आज बसेको बैठकले दुवै आयोगका पदाधिकारीका लागि मङ्सिर २ गते सार्वजनिक गरेको नामका बारेमा कुनै प्रतिक्रिया भएमा पाँच दिन उजुरीका लागि आह्वान गरिएको थियो । पदाधिकारीलाई नै केन्द्रित गरेर भने कुनै पनि उजुरी परेको देखिएन ।

सिफारिस समितिका सदस्य शर्मिला कार्कीका अनुसार एउटा निवेदन आफ्नो उजुरी फिर्ता पाउँ भन्ने विषयमा र अर्को निवेदन २५-२६ जनाले सामूहिकरुपमा नयाँ पदाधिकारी छान्ने प्रक्रियाको विरुद्धमा परेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा हुन चाहनेमा कमलनारायण दास र मधुप्रसाद रेग्मी हुनुहुन्छ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गरी दुवै आयोगको अध्यक्ष हुन चाहनेमा युवराज सुवेदी रहेका छन् ।

दुवै आयोगका अध्यक्ष तथा सदस्य बन्न इच्छुकमा १० जनाको नाम रहेको छ । पदाधिकारीका लागि इच्छुक ६१ जनाको नाम समितिले सार्वजनिक गरेको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । पदाधिकारीको छनौटमा भने ढिलाइ भइरहेको छ । सार्वजनिक भएका पदाधिकारीमा अधिकांश पुरानै नामप्रति द्वन्द्वपीडितले आपत्ति जनाएका छन् भने पुरानै पदाधिकारीबाट न्याय पाउनेमा आशावादी नभएको उनीहरुले बताउँदै आएका छन् ।

द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको र पीडितले न्याय पाउनेमा आशावादी हुन नसकेको बताए ।

पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिलाई अझै केही दिन लाग्ने देखिन्छ । सिफारिस समितिका सदस्य कार्की परेका निवेदन अध्ययन गर्न केही दिन लाग्ने बताउछन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै