काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र कुबेतबीचको खेल भूटानमा नै हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रङ्गशालामा गर्न एएफसीले स्वीकृति दिएको जानकारी दिएको छ ।
अब नेपाल र कुवेतबीचको विश्वकप छनौट अन्तर्गतको खेल आगामी मङ्सिर ३ गते भुटानको चाङलिमिथाङ रङ्गशालामा हुने निश्चित भएको छ ।
यस अघि निर्माणधिन दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।
विसं २०७२ को भूकम्पका कारण रङ्गशाला पूर्णरुपमा क्षति भएको थियो । समयमै रङ्गशालाको पुनःनिर्माण हुन नसक्दा खेल खेलाउन एन्फा असमर्थ भएको हो ।
विश्वकप छनोटको खेलमा नेपाल यस अघि कुबेतसँग ७–० गोलले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । नेपाल अष्ट्रेलियासँग ५–० गोलले तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।