Skip This

निष्ठुरी सुकुटे, तिमिले अन्याय गर्यौ !

खरीबोट

सुरक्षा बर्तौला 

''कसलाई के थाहा भोलिको झोलिमा के छ ? जिन्दगीमा अनेक घुम्तिहरु आउछन् र बाटो नै मोडिदिन्छन्। गर्भमा रोपिए देखि कात्रोमा छोपिदा सम्मका अनेकौँ मोडहरुमा अनेकौँ रहस्य'' जी.एस. पौडेलको उपन्यास एकसर्को माया पढ्दैगर्दा यो लाइन नोट गरेकी थिएँ । साँच्चै नै त्यस्तै रहस्य छोपेर राखेको रहेछ सिन्धुपाल्चोकको सुकुटेले पनि ।

विहान उठेर सरसर्ती समाचार हेर्छु भनेर ट्वीटर खोलेँ। आफुले पढ्ने लेखकहरुसंग सिधा जोडिन सहज भएकाले महत्वपुर्ण लेख र समाचारहरुसम्म पुग्न ट्विटर सजिलो माध्यम बनेको छ, अचेल मेरो लागी ।

सहयोग रंजित नामबाट ट्वीट भएको पहिलो पोष्टको लिंकमा आँखा पर्नगयो र त्यसैमा क्लिक गरेँ। नेत्र तामाङले लेखेको अनि प्रविन रानाभाटले खिचेको फोटो स्टोरी रहेछ। सुरुदेखि अन्तिम सम्म एक अक्षर नछुटाई पढेँ। पढीसक्दा आँखा भरिएका थिए मेरा र स्तब्ध बनाएको थियो मलाई सुकुटे बस दुर्घटनाको त्यो फोटो स्टोरीले।

सुकुटेलाइ सम्झनको लागी मसंग त्यहाँ र्याफ्टिङ गर्दाका रमाइला पलहरु मात्रै थिए। आज भन्दा ठ्याक्कै ६ महिना अगाडि, गर्मी बिदाको फुर्सदिला र पट्यार लाग्दा दिनहरुलाई रौनकपुर्ण बनाइदिने भुमिकामा मात्रै सिमित थियो सुकुटे मेरो लागी।

जेठ महिनाको अन्तिम-अन्तिम दिन चरक्क घाम चर्किदा सुर्यदेव नै अलिकति तल झरेछन् झैँ लाग्थ्यो। त्यसो त विश्वमा ग्लोबल वार्मिङ्गका विषयमा विभिन्न बहस नचलेको पनि हैन। विश्वमा चल्ने गरेको ग्लोबल वार्मिङ्ग विषयका बहसले के कम गराउन सक्थ्यो र त्यो गर्मी। खैर यस्तैमा एकदिन मेरो दिमागले र्याफ्टिङ्ग जाने सोच्यो।

जागिर नभएको समय, मनमा अनेक कुरा खेलिरहने। धेरैथोक सोचेर दिमागलाई ओभरलोड टेन्सन दिनु भन्दा त कतै घुम्न जान ठिक, अझै त्यो उखर्माउलो गर्मीमा सुनकोसीको चिसो पानीमा र्याफ्टिङ्ग गर्न पाए कसलाई पो रमाइलो नलाग्ला र!

कोठामा उपलब्ध कछुवा गतिको अर्ध सरकारी एडिएसएल इन्टरनेटको टिठ्लाग्दो खोजीबाट सुरुभयो र्याफ्टिङ्ग गर्न सुकुटे जाने मेरो दिमागी प्लानलाई आकार दिने काम।

२-३ ओटा र्याफ्टिङ्ग एजेन्सिहरुसँग कुराकानी गरेँ। साथि, भाई, बहिनी, दिदी सबैलाई म्यासेज गर्नथालेँ। "जान्छु" भन्ने जतिको एउटा ग्रुप बनाएँ फेसबुक म्यासेन्जरमा र आफुले पाएको सबै जानकारी बताएँ। अन्तिममा १० जनाको टोली जाने भयौँ। जाने कुरा पक्का गर्न मलाई यति हतार भैसकेको थियो कि उतिखेरै ई-सेवा बाट २ हजार बैना पनि गरिदिएँ, वान नाइट क्याम्पिङ्ग सहितको र्याफ्टिङ्ग प्याकेज एक जनाको ३५ सय पर्ने गरि।

म सुनकोसीको छाल सङ्ग जिस्किदै खेलेर, पौडिएर अनि रमाएर फर्किएकी थिएँ, तर त्यहि सुनकोसीको पानी ले एकैपटक १९ जनाको ज्यान लियो। म र्याफमा चडेर पानीमा तैरिदै साहसी खेल खेलेँ भनेर आफै दङ्ग थिएँ तर त्यहि र्याफले नदिमा डुबेका १९ मृत शरीर बोकेर निस्कनु पर्यो! मन झसँग हुने यो फोटो स्टोरी पढिरहदाँ ति सबै हर्षले भरिएका क्षणहरु फिक्का र नरमाइला लाग्दै गए।

गत आइतबार विहान ८:३० बजे शैलुङ गाउँपालिका–४ बागखोरबाट काठमाडौंको लागि छुटेको शैलुङ यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडक खण्डबाट सुनकोशी नदीमा खसेर दुर्घटना भएको थियो।

उक्त फोटो स्टोरीमा भनिएको नदी किनारमा आधा अडिएर उत्तानो परि डुबेको बस, भीरतिर छरिएका घरबाट ल्याइएका कोसेलीहरु, आलु, स्कुस, करेला, साग, भुटेको मकै, अमला, चामल, पिठो, तिहारमा दिदि बहिनीले दिएको भाईमसला, भीरको झाडीमा झुन्डिएको विश्वकर्माको फोटो, बसमा सवार यात्रुहरुको चप्पल तथा कपडा, नाम नै देखिने कुनै विद्यार्थीको नोटबुक अनि दुर्घटना स्थल वरपरको रगतका टाटा! दुर्घटना पछिको उक्त दृश्य कल्पना मात्रै गर्दा पनि मन झसङग् हुन्छ।

घरबाट हरेक पटक यो शहर फर्कदा, यसैगरि त आउने हुँ म- अनेक सामल-तुमलका पोकाहरु बोकेर।

ओहो! ठ्याक्कै मजस्तै मान्छेहरु। सोच्दा, मन ढक्क फुलेर भारी हुन्छ। यदि मेरो घरपनि शैलुङ हुन्थ्यो भने, के थाहा आमाले पोको पारेर पठाएको मकै-भटमास त्यतै पाखामा असरल्ल छरिएका हुन्थे की!

थाहा छैन अब फेरी नदी किनारमा आधा अडिएको बस त्यहि सडकमा कुद्न सक्ने हुन्छ या हुँदैन। तर भिरभरी छरिनुपरेका कोसेलीहरु भने अब आफन्तको घर पुग्ने छैनन्। अल्झिएका कपडा फेरी मानब शरीरमा बेरिन नपर्ने भयो, चप्पलले अब कसैको खुट्टामा घिस्रन नपर्ने भयो।

न तिहारमा दिदिबहिनिले भाइटिकासंगै दिएको भाइमसला दाजुभाइको मुखसम्म पुग्न सक्यो, न दिर्घायुको कामना गर्दै मुलढोकामा छेकेर फुटाएको ओखरले आयु नै लम्ब्याउन सक्यो।

बस रुख लछार्दै नदीमा डुब्दा, बस र बसमा सवार सम्पूर्ण यात्रुहरुको रक्षा गरुन भनेर राखिएको विश्वकर्मा बाबाले पनि भिरको एउटा कुनामा अल्झिएर टुलुटुलु हेरि मात्रै रहे।

कुनै विद्यार्थीले खुब जतन गरेर राखेको, आफ्नो सुनौलो भविष्यको बाटो कोर्दै गरेको नोटबुकले त्यतै कतै बाटो बिरायो।

चाडपर्व र छुट्टी सक्याएर मनभरी थरीथरीका आशा अनि आँखा भरिका सपनासंगै गाउँको कोसेली पोको पारेर फर्किदै थिए उनीहरु फेरि शहरको उही भागदौडमा। तर अब उनीहरुले कहिल्यै दौडिन नपर्ने भएको छ।

जीवनको यात्रामा जिन्दगीको साथ सबैभन्दा महत्वपुर्ण हुने रहेछ। मृत्यु पर्यन्त चलिरहने एउटा यात्राको नाम जीवन। जीवनको अन्तिम अनि पहिल्याउनै नपर्ने गन्तव्य मृत्यु। अब उनीहरुको जीवन यात्रा रोकिएको छ। मानव चोलाबाट मुक्ति पाएका छन्।

म जस्तै लाग्ने उनिहरुलाई अब मैले यो भन्दा बढी के नै भन्न सक्छु र! भौतिक शरिर छाडिसकेको आत्माले शान्ति पाओस। हार्दिक श्रद्धाञ्जली!

अनि घाइते बन्न पुगेका सम्पुर्णलाई शिघ्र स्वास्थ्य लाभको कामना।

मलाइ पोल्टाभरी हाँसो र खुसि दिएर फर्काएको सुकुटेले, मजस्तै उनिहरुलाई आमाको काख रित्तो बनाएर खोसेर लग्यो। परिवारलाई कहिल्यै नपुरिने घाउ लगाइदियो। निष्ठुरी सुकुटे, तिमिले ''मजस्तै उनिहरु'' लाई अन्याय गर्यौ।

सम्बन्धित समाचार

प्याजको कथा

आज प्याजको कथा सुनाउँछु है ।  पहिले - पहिले प्याज काट्दा रुनुपर्थ्यो तर अब त प्याज किन्न नै रुनुपर्ने भएको छ। प्याज सम्झिँदा रमाइला किस्साहरु पनि सम्झिन्छु म। सानो छँदा भान्छामा ममीलाई

बाबा खै त टुँडिखेल ?

एकादेशमा एउटा काठमाडौं भन्ने सहर थियो, त्यो शहरको बीचमा एउटा टुँडिखेल नाम गरेको विशाल चौर थियो रे ! सहरका मानिसहरुलाई हावा खाने ठाउँ, थकाई लाग्दा सुस्ताउन, फुर्सदमा टहलिन, जात्रा मनाउन


z