• २०८१ बैशाख २१ शुक्रबार

स्तन क्यान्सरका लक्षण के के हुन् ? यस्ता छन् बच्ने उपाय

kharibot

काठमाडौँ । स्वस्थ र आनन्ददायी जीवन सबैको चाहना हो । तर, क्यान्सरजस्तो भयानक रोगले मानिसलाई अकालमै निलिरहेको छ । सयौं प्रकारका क्यान्सरमध्ये स्तन क्यान्सर धेरैलाई लाग्ने प्राणघातक रोग हो । यो महिलालाई मात्र नभई पुरुषलाई पनि हुन सक्छ । तर, पुरुषमा यो रोग निकै कम लाग्ने गरेको छ ।

नेपालको सन्दर्भमा महिलाहरु आफ्नो रोगलाई लुकाएर राख्ने, भन्न लजाउने, चेतनाको कमी, रोगको बारेमा जानकारी नहुनु आदि कारणले आफ्नो रोग लुकाएर बस्ने गरेका छन् । त्यसैले, नेपालमा कति महिला यस रोगबाट ग्रस्त छन् भन्ने स्पष्ट तथ्यांक नभए पनि करीब ५० हजार महिला यस रोगबाट पीडित भएको अनुमान गरिएको छ ।

नेपालजस्तो अल्पविकसित मुलुकमा यस्ता आन्तरिक रोगबारे खुलेर चर्चा नगर्ने, लाज मान्ने, समाजसँग डराउने आदि प्रवृत्तिका कारण रोगले ठूलो रुप लिइसकेपछि बल्ल उपचारको लागि अस्पताल धाउने चलन छ । त्यसैले समयमै उपचार हुने भएपनि रोगले विकराल रुप लिइसकेपछि उपचार गराउने प्रवृत्तिका कारण कतिपयले ज्यान नै गुमाउनुपरेको छ । 

यदि स्तन क्यान्सरको लक्षणलाई चिन्न सक्ने हो भने प्रारम्भिक चरणमा नै यसको निदान गर्न सकिन्छ । त्यसैले यसको लक्षण पहिचान गर्न अत्यन्त जरुरी छ । स्तन क्यान्सरका लक्षण यस प्रकार छन् । 

स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु 

स्तनमा गाँठो, गिर्खा आउनु स्तन क्यान्सरको लक्षण हुन सक्छ । स्तनमा कुनै असामान्य अवस्था त छैन भनी शंका लागेको अवस्थामा स्तनको परीक्षण गर्नु आवश्यक छ । स्तनमा कुनै किसिमको गाँठो त छैन भनी आफै निरीक्षण गर्न सकिन्छ । यस्तो गाँठोले पीडा नदिन पनि सक्ने भएकाले कतिपय महिला यसलाई खासै वास्ता गर्दैनन् । यस्तो गाँठो स्तनको कुनै पनि भागमा अथवा स्तनवरिपरि हुन सक्छ । धेरैजसो काखीको छेउमा यस्तो गाँठो आउने गर्छ । यदि स्तनमा अथवा यसको वरिपरि कुनै पनि किसिमको गाँठो छ भने तुरुन्त चिकित्सकसँग सल्लाह लिनु आवश्यक छ । स्तन क्यान्सर भएको छ भने स्तनको आकार बढेर दुई स्तनको आकार फरक हुन सक्छ । 

स्तनको टुप्पोमा असाधारण परिवर्तन 

स्तनको टुप्पोमा असामान्य परिवर्तन देखिएको छ र यसको कारण थाहा पाउन सकिएको छैन भने यो पनि स्तन क्यान्सरको लक्षण हुन सक्छ । स्तनको टुप्पोको दिशा परिवर्तन भएको छ, भित्र दबिँदै गएको छ अथवा आफ्नो स्थानमा सामान्य रुपमा छैन भने यो स्तन क्यान्सरको लक्षण हो । 

छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु

त्यस्तै, स्तनको छालाको रङ असाधारण रुपले परिवर्तन हुनु पनि स्तन क्यान्सरको लक्षण हो । यदि स्तनको रङ रातो अथवा असाधारण देखिन थालेको छ भने परीक्षण गराउनु अत्यन्त आवश्यक छ । त्यस्तै, क्यान्सर लागिसकेको छ भने स्तनको टुप्पोको अथवा वरिपरिको छाला खुइलिन थाल्छ । 

असामान्य रुपले दूध, पानी अथवा रगत आउनु

स्तन क्यान्सर भएको छ भने स्तनबाट असाधारण रुपले दूध अथवा पानी बग्न थाल्छ । त्यस्तै, क्यान्सरले प्राथमिक चरण पार गरिसकेको छ भने गाँठो अथवा गिर्खा बढ्दै गएर स्तनबाट रगत पनि आउन थाल्छ । 

स्तन, हाडजोर्नीमा पीडा हुनु, घाउ हुनु, शरीरको तौल घट्न थाल्नु 

क्यान्सरले प्रारम्भिक चरण पार गरिसकेको छ भने स्तनमा असामान्य रुपले पीडा हुन थाल्छ । त्यस्तै, हाडजोर्नीमा दुख्ने, शरीर झमझमाउने, कमजोर महसूस हुने र असाधारण रुपले शरीरको तौल घट्दै जान थाल्छ । शरीरको तौल घटाउने महिलाहरुको सोख हुन सक्छ । शरीरको तौल घट्दै गएको छ भनी मख्ख नपरी खानामा कमी नगरी र कुनै पनि व्यायाम नगरी शरीरको तौल घट्दै गएको छ भने यो स्तन क्यान्सरको लक्षण हुन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ । 

माथि उल्लिखित लक्षण क्यान्सरको मात्र लक्षण नभई अन्य रोगको पनि लक्षण हुन सक्छन् । त्यसैले डराइहाल्नु भने जरुरी छैन । तथापि, डाक्टरको सल्लाहअनुसार मेमोग्रामको माध्यमले स्तन क्यान्सरको परीक्षण गर्न सकिन्छ । मेमोग्रामको उपयोग गरी स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सकिन्छ । यदि स्तन क्यान्सर लागिसकेको छ भने पनि सुरुवाती अवस्था भएमा यसको उपचार सजिलै हुन्छ र लामो समयसम्म स्वस्थ जीवन जिउन सकिन्छ । 

स्तन क्यान्सरको कारण 

शरीरको कुनै पनि अंगमा हुने कोशिका अनियन्त्रित रुपमा बढ्नु नै क्यान्सरको प्रमुख कारण हो । शरीरको आवश्यकताअनुसार कोशिकाहरु विभाजित हुन्छन् । तर, यदि कोशिकाहरु लगातार बढिरहे भने यसले क्यान्सरको रुप लिन सक्छ । त्यस्तै, स्तनका कोशिकाहरु अनियन्त्रित रुपमा बढ्नु स्तन क्यान्सरको मुख्य कारण हो । अनियन्त्रित रुपमा कोशिकाहरु बढेर जम्मा भएपछि गाँठोको रुप लिन्छ । यसलाई क्यान्सरको ट्युमर पनि भनिन्छ । 

स्तन क्यान्सरका अन्य कारकहरु 

१.    बच्चा नजन्माउनु अथवा उमेर ढल्किसकेपछि बच्च जन्माउनु
२.    स्तनपान नगराउनु
३.    जेनेटिक अथवा आनुवंशिक कारण 
४.    गर्भनिरोधक औषधिको बढी सेवन
५.    १२ वर्षभन्दा कम उमेरमा मासिक धर्म सुरु हुनु
६.    पहिला क्यान्सर भइसकेको छ भने
७.    तौल धेरै हुनु
८.    शरीरलाई निष्क्रिय राख्नु
९.    दिनमा आठ घण्टाभन्दा धेरै सुत्नु
१०.    धूमपान र मद्यपान
११.    जंक फुड अथवा तयारी, प्याक गरिएका खाना खानु
१२.    धेरै तातो चिया, कफी अथवा खाना खानु
१३.    नुनको बढी प्रयोग
१४.    रातो मासु धेरै खानु
१५.    प्रदूषण
१६.    कडा घामको किरणमा बस्नु
१७.    स्तन क्यान्सरबाट बच्ने उपाय
 

नियमित रुपमा ब्ल्याक टी अथवा ग्रीन टी पिउनाले स्तन क्यान्सरको सम्भावना कम हुन्छ । यसमा पाइने एपिग्यालो क्याटचिन नामक तत्त्वले ट्युमरका कोशिकालाई अनियन्त्रित रुपमा बढ्न दिँदैन । 

भिटामिन डीको सेवनले क्यान्सरका कोशिकाको वृद्धिलाई रोक्न सहयोग गर्छ । त्यस्तै, नियमित रुपमा दूध, दही, माछा, मासु खानु पनि फाइदाकारी हुन्छ । तर, ती खानामा चिल्लोको मात्रा कम हुनु आवश्यक छ । 

भिटामिन सीले पनि स्तन क्यान्सरबाट बचाउँछ । यसले प्रतिरक्षा प्रणालीलाई सबल बनाई क्यान्सरका कोशिका बढ्न दिँदैन । 

क्यान्सरका कोशिकालाई बढ्न नदिन जमराको रस र अनार पनि उपयोगी हुन्छ । यसले शरीरमा भएका हानिकारक तत्त्वलाई बाहिर निकाली प्रतिरक्षा प्रणालीलाई पनि सबल बनाइराख्छ । 

नियमित रुपमा व्यायाम, योग गर्नाले शरीरमा रक्तकोशिकाहरु अनावश्यक रुपमा जम्मा हुन पाउँदैनन् र यसले क्यान्सरको सम्भावनालाई कम गरिदिन्छ । 

समयमा नै बच्चा जन्माएर नियमित रुपमा स्तनपान गराउने महिलालाई क्यान्सर रोग लाग्ने सम्भावना कम रहन्छ । 

स्तन क्यान्सर र यौन जीवन

कुनै पनि रोगको असर मानिसको यौन जीवनमा पर्न सक्छ । स्तन क्यान्सरले यौन जीवनलाई पूर्ण रुपमा नष्ट गरिदिन सक्छ । स्तन क्यान्सर लागेको महिलालाई किमोथेरापी दिइन्छ । यसले शरीर निकै कमजोर हुन्छ । यसले हार्मोनमा परिवर्तन ल्याउन सक्छ । क्यान्सर लागेका मानिसको कपाल झर्ने जस्ता अन्य असर पनि छन् । यस्तोमा मानिसले आफूलाई कमजोर महसूस गरी आत्मविश्वास गुमाउन सक्छ र यसको प्रत्यक्ष असर यौन जीवनमा पर्न सक्छ ।

स्तन क्यान्सरको उपचारपछि पनि निकै लामो समयसम्म यसको प्रभावले महिलाहरु तनावग्रस्त हुन सक्ने भएकाले जीवनसाथीले उनीहरुलाई हौसला दिनु जरुरी छ । यसले उनीहरुलाई मानसिक रूपमा सबल बनाउँछ । शारीरिक र मानसिक रूपमा सक्षम भइसकेपछि पुनः यौन जीवन शुरु गर्न सकिन्छ । 

स्तन क्यान्सर भएका महिला गर्भवती हुन सक्दैनन् भन्ने धारणा कतिपयको हुन सक्छ । तर, यो गलत हो । तथापि, औषधिको धेरै सेवनले गर्दा हार्मोनमा परिवर्तन आउन सक्ने भएकाले पूर्ण स्वस्थ नभई गर्भ धारण गर्नु राम्रो होइन ।

क्यान्सर भइसकेका महिलामा आत्मविश्वासको कमी हुन सक्ने भएकाले उनीहरुले आफ्नो मनको कुरा नजिकको साथी, जीवनसाथी, इष्टमित्र अथवा कसैलाई भन्नु आवश्यक छ । घरपरिवारले पनि यस रोगलाई सामान्य रूपमा लिई रोगबाट पीडितलाई हौसला दिने हो भने पीडितहरू फेरि तनावरहित स्वस्थ जीवन जिउन सक्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै