काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी जेल चलान भएका छन् ।
सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल सजाय सुनाइएका ठकुरी बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका हुन् । चन्दलाई डिल्लीबजार जेल चलान गरिएको छ । चन्द बिहीबार दिउँसो ४ बजे सर्वोच्च पुगेका थिए ।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि उनलाई दोषी ठहर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति मिसन सुडानका लागि प्रहरीले खरीद गरेको बन्दोबस्ती सामान गुणस्तरीय नभएको आरोपमा २८ करोड ८१ लाख बिगो दाबीसहित २०६८ जेठ २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो। विशेषले प्रहरीका तीन पूर्व महानिरीक्षक तथा ठेकेदार कम्पनी र तिनका प्रतिनिधिलाई दोषी ठहर गरेको थियो। ३१ प्रहरी अधिकारीलाई भने विशेषले सफाई दिएको थियो ।
प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । जनही दुई वर्षको कैद सजाय पनि इजलासले सुनाएको थियो ।