• २०८१ बैशाख १६ आइतबार

मुख्यमन्त्रीद्वारा छात्रालाई साइकल वितरण

kharibot

मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत ११४ छात्रालाई साइकल प्रदान गरेका छन । श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत ती छात्रालाई मुख्यमन्त्री राउतले आज सोही विद्यालयमा आयोजित कार्यक्रममा साइकल प्रदान गरेका हुन् ।

मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढाटाढाबाट विद्यालय आउने छात्रालाई सहज हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालय निर्माणजस्ता कार्यक्रमलाई अघि बढाएर महिला सशक्तीकरणमा प्रदेशलाई अग्रपङ्क्तिमा राख्ने सोच लिएको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले महिला शिक्षाबिना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेरै प्रदेश सरकारले एकपछि अर्को कार्यक्रम ल्याउन लागेको बताए । उनले प्रदेश सरकारले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उल्लेख गरे ।

त्यसैगरी सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरीहरुलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागिसमेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको बताए ।

प्रदेशसभा सदस्य परमेश्वर साहको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जयनुल राइन, प्रमिलादेवी दास, चमेलीदेवी दाससहितका वक्ताले शुभकामना मन्तव्य राखेका थिए । प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश नं २ भित्रका सामुदायिक विद्यालयको कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै