• २०८१ बैशाख १८ मंगलबार

ओप्पोले ल्यायो पपअप सेल्फी क्यामेरा भएको एफ ११ प्रो स्मार्टफोन

kharibot

ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो एफ ११ प्रो मंगलबार भारतको मुम्बई सहरमा लन्च गरेको छ । ४८ मेगापिक्सेल क्यामेरा रहेको यस फोनको मुख्य आकर्षण यसमा रहेको पपअप सेल्फी क्यामेरा रहेको छ ।

तर यो फोन पपअप सेल्फी क्यामेरा भएको ओप्पोको पहिलो स्मार्टफोन भने होइन । ओप्पोले अघिल्लो वर्ष आफ्नो स्मार्टफोन ओप्पो फाईन्ड एक्समा पनि यस्तै फिचर समावेश गरेको थियो । तर उक्त फोनमा सेल्फी क्यामेराको पूरै भाग माथि आउने गर्दथ्यो भने ओप्पो एफ ११ प्रोमा एउटा सानो भाग मात्र पपअप सेल्फी क्यामेराका रुपमा माथि आउने छ ।

चीनको बीबीके इलेक्ट्रोनिक्सले निर्माण गरेको यो फोनको डिजाइन उक्त कम्पनी कै भर्खरै लन्च गरिएको भिभो भी १५ प्रोसँग मिल्दोजुल्दो रहेको बताइएको छ । तर दुवै फोन एकै कम्पनीले निर्माण गरेको हुनाले यी दुई फोनमा समानता हुनु स्वभाभिकै मानिएको छ ।

ओप्पो एफ ११ प्रोमा ६.५३ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ भने यसमा मेडिया टेक हेलियो पी ७० प्रोसेसर रहेको छ । त्यसैगरी यो फोन ४ जीबी र ६ जीबी र्याममा उपलब्ध हुने छ । फोनको ब्याट्री क्षमता ४००० एमएएच रहेको छ र फोनलाई ओप्पोको भीओओसी ३.० चार्जिंग सिस्टमले द्रुत गतिमा चार्ज गर्न मिल्ने छ ।

यसका साथै फोनको अपरेटिंग सिस्टम एन्ड्रोइड ९.० पाईमा आधारित कम्पनीको आफ्नै कलर्स ओएस ६.० रहेको छ । फोनको युजर इन्टरफेस एप्पलको आइओएससँग मेल खाने गरी डिजाइन गरिएको छ भने धेरैले यसलाई एन्टी गुगल इन्टरफेस पनि भन्ने गरेका छन् ।

रेड्मी नोट ७ प्रो र भिभो भी १५ प्रोपछि ओप्पो एफ ११ प्रो ४८ मेगापिक्सेल क्यामेरा भएको पछिल्लो स्मार्टफोन हो । यसको पछाडिको भागमा ४८ मेगापिक्सेल र ५ मेगापिक्सेलका दुईवटा क्यामेरा लेन्स रहेका छन् । ओप्पोले पनि रेड्मी नोट ७ प्रो जस्तै आफ्नो फोनमा सोनीको आइएमएक्स ५८६ सेन्सर प्रयोग गरेको छ ।

यस फोनको पप अप सेल्फी क्यामेरा लेन्स १६ मेगा पिक्सेलको रहेको छ जसमा अल्ट्रा नाइट मोड र आर्टिफिसियल इन्टेलिजेन्स युक्त अल्ट्रा क्लियर इन्जिन फिचर रहेका छन् ।

ओप्पोले एफ ११ प्रोसँगै यो भन्दा अलि सस्तो ओप्पो एफ ११ पनि लन्च गरेको छ । भारतमा पहिलोपटक लन्च गरिएको ओप्पो एफ ११ प्रोको मूल्य २४,९९० भारु रहेको छ भने ओप्पो एफ ११ को मूल्य १९,९९० भारु रहेको छ । त्यसैगरी कम्पनीले चीनको बजारलाई लक्षित गरेर एफ ११ प्रो जस्तै आर १९ नामको फोन चाडै लन्च गर्ने जनाएको छ ।

यसका साथै कम्पनीले पप अप सेल्फी क्यामेरा लेन्स भएको वान प्लस ७ पनि केही समयमा लन्च गर्ने सम्भावना रहेको संचारमाध्यमहरूले जनाएका छन् । यसअघि पनि ओप्पोको एफ सिरिजका फोनहरूको लन्चपछि समान फिचर हुने गरेका वान प्लसका स्मार्ट फोनहरू लन्च हुने गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै