हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागि एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् । चन्द्रपुर नगरपालीका ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागि धुर्मुस सुन्तली फाउण्डेशनको चौथो परियोजनाअन्तर्गतको ‘एकिकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।
आज बिहान ९ बजे सिताराम कट्टेल (धुर्मुस्), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ बर्षिय रामकलिया देवी हजाराले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । फाउण्डेशनसका अध्यक्ष सितारामकाअनुसार बस्ती आज असोज ४ गतेबाट शुरु भएर आउँदो माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गरिने भएको छ ।
केहि समय अघि गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँ बाढीबाट पीडित र समुदाय पनि पिछडिएको कारण यसै ठाउँमा बस्ती निर्माण गर्न लागिएको धुर्मुसले जानकारी दिए । कार्यक्रममा बस्ती निर्माणका लागि ५ करोड ७५ लाख रुपैयाँ लागत लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो ।
परियोजनाअन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक शौचालय १ वटा साथै कम्पाउण्डसहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने यस परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए । यस सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिस बसोबास गर्दै आएकाछन् ।