काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि आफ्नै सांसदसँग गुहार माग्नु लज्जास्पद भएको बताएका छन् ।
बिहीबार संसदको बजेट अधिवेशनको अन्तिम बैठकलाई संबोधन गर्दै नेता गच्छदारले सरकार यसरी निरिह बन्छ भनेर आफुले नसोचेको बताए। उनले भने, ‘राज्य कतिसम्म निरिह बनेको छ भने केपी ओलीले संसदहरुसँग गुहार माग्नुहुन्छ, किन सरकारको प्रतिरक्षा नगरेको भन्नुहुन्छ’
उनले अगाडी भने, 'प्रधानमन्त्रीहरुले यस्तो कहिले बोलेको सुनेको थिइन । प्रधानमन्त्रीले अरिगाँल झैं खनिनु भनेर सत्तापक्षका माननीयलाई उचाल्नुहुन्छ ।’नेता गच्छदारले प्रधानमन्त्रीले सत्तापक्षका सांसदलाई उचालेर देशलाई मुठभेडमा लैजान खोजेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले विगतमा सर्वपक्षीय बैठकहरुमा संघीयता विरोधी अभिव्यक्ति दिने गरेको भन्दै नेता गच्छदारले प्रधानमन्त्री भएका बेला संघीयता असफल बनाउन खोजेको आरोपसमेत लगाए ।
सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको भन्दै सत्तापक्षले नै सरकारको विरोध गरेको पहिलो पटक देखेको गच्छदारले टिप्पणी गरे । ‘सत्ता पक्षबाटै सरकारको आलोचना । आलोचनामात्रै होइन सरकारको निरिहताबारे, सरकारको क्रियाकलापप्रति लज्जाबोध गर्ने खालको अभिव्यक्ति आएको छ । २६/२७ वर्षको इतिहासमा यस्तो पाएको थिइन’ उनले भने ।
सरकारले दुई तिहाई पाएर पनि जनतालाई राहत दिन असफल भएको भन्दै रेलको सपना मात्र देखेर नहुने बताए। उनले रेल चलाउन सयौ पुल बनाउनु पर्ने भन्दै सडकमा रेल नहिड्ने बताए।
गच्छदारले ५ बर्षमा ५ हजार मेघावाट कसरी बन्छ भन्दै विगतमा काँग्रेसले सुरु गरेका योजनालाई आफ्नो खल्तीमा जोडेर गर्न नपाइने र आफुले सुरु गरेर ५ हजार मेघावाट पुर्याउन अर्थमन्त्रीलाई चुनौती दिएका छन्।