काठमाडौँ। प्रतिनिधि सभाको आजको दोस्रो बैठक सुचारु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कन्चनपुरमा निर्मलाको हत्या प्रकरण, रोल्पामा तरुण दलका नगर अध्यक्षको हत्या प्रकरण र पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको जवाफ माग्दै पहिलो बैठक अवरोध गरेपछि स्थगित भएको थियो।
काँग्रेसको माग अनुसार सरकारको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल संसदमा जवाफ दिएका थिए। मन्त्री ढकालले सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन आउने तयारीमा रहेको जानकारी दिए ।
साथै सरकारले कन्चनपुर घटनामा, रोल्पामा तरुण दलका नगर अध्यक्षको हत्याका अपराधीलाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको जानकारी संसदमा मन्त्री ढकालले दिएका थिए।
साथै पत्रकारलाई पक्राउ गरिएको विषयमा सरकारको गम्भीर ध्यानआकर्षण भएको मन्त्री ढकालले बताए।
साथै प्रमुख प्रतिपक्षिदल काँग्रेसले संसदमा उठाएका विषयमा सम्बन्धित मन्त्रीले शुक्रबार संसदमा जवाफ दिने जानकारी संसदलाई दिएका छन्। मन्त्रीको बैठक पछि संसदको बैठक सुचारु भएको छ।