• २०८३ मङ्सिर १३ आइतबार

काठमाडौँलाई जलवायु उत्थानशील सहर बनाउने प्रतिबद्धता सकियो जलवायु कार्य सप्ताह

काठमाडौँलाई जलवायु उत्थानशील सहर बनाउने प्रतिबद्धता सकियो जलवायु कार्य सप्ताह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा आयोजित काठमाडौँ जलवायु कार्य सप्ताहबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा ‘काठमाडौँ जलवायु घोषणा, २०८३’ जारी गरिएको छ ।

मंसिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको जलवायु कार्य सप्ताहबाट जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माणका लागि सातबुँदे प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

घोषणामा जलवायु परिवर्तनका कारण बढ्दो बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका असर न्यूनीकरण गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य गर्ने उल्लेख छ ।

त्यस्तै, विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र वातावरण संरक्षणसम्बन्धी शिक्षा तथा व्यावहारिक सीप विकासमा जोड दिइएको छ। विकास निर्माणका योजनामा जलवायु जोखिम मूल्याङ्कन र वातावरणीय संवेदनशीलतालाई अनिवार्य रूपमा समेट्ने प्रतिबद्धता पनि गरिएको छ ।

काठमाडौँ उपत्यकालाई जलवायु उत्थानशील बनाउन वायु प्रदूषण नियन्त्रण, वर्षाको पानी सङ्कलन, नदी तथा खोलाको पुनर्जीवन, हरित क्षेत्र विस्तार, परम्परागत पानीका स्रोत र सांस्कृतिक सम्पदाको संरक्षण तथा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनलाई प्राथमिकता दिइने घोषणामा उल्लेख छ ।

घोषणाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय र जोखिममा रहेका बस्तीका नागरिकलाई जलवायु नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । त्यसैगरी, जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई नागरिकको दैनिक जीवनसँग जोड्दै स्वच्छ ऊर्जा, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण र दिगो उपभोगलाई प्रोत्साहन गर्ने प्रतिबद्धता गरिएको छ ।

घोषणामा प्रतिबद्धतालाई व्यवहारमा उतार्न कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धि निर्धारण गरी कार्यान्वयन गर्ने उल्लेख छ। जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच बढाउँदै नियमित अनुगमन र सार्वजनिक जवाफदेहितालाई समेत प्राथमिकता दिइने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै