काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा राष्ट्रिय जागरण अभियान अघि बढाइएको बताएका छन् ।
उपत्यका प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ गर्दै संगठन पुनर्निर्माण गर्ने उद्देश्यले दुईमहिने अभियान सञ्चालन गरिएको बताए ।
उनका अनुसार अभियानमार्फत पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, आगामी स्थानीय निर्वाचनको तयारी र पार्टी महाधिवेशनको तयारीलाई अघि बढाइनेछ ।
प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिँदै विभिन्न कम्युनिस्ट घटकलाई एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास भइरहेको पनि बताए ।
उनले नेकपा एमालेसँग तीनबुँदे सहकार्य र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि बढाइएको जानकारी दिँदै अन्य राजनीतिक शक्तिसँग पनि संवाद र सहकार्य भइरहेको बताए ।









