काठमाडौं । जलवायु परिवर्तनका कारण आगामी दशकहरूमा चट्याङको जोखिम उल्लेख्य रूपमा बढ्न सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ । विशेषगरी बादलबाट जमिनमा खस्ने चट्याङको आवृत्ति यस शताब्दीको अन्त्यसम्म अहिलेको तुलनामा ७६ देखि १४० प्रतिशतसम्म बढ्न सक्ने अध्ययनको प्रक्षेपण छ ।
अमेरिकन जियोफिजिकल युनियनको अनुसन्धानमूलक जर्नल ‘अर्थ्स फ्युचर’ मा सन् प्रकाशित अध्ययनले उच्च हरितगृह ग्यास उत्सर्जन जारी रहेमा सन् २०८१ देखि २१०० सम्म जमिनमा खस्ने चट्याङको संख्या उल्लेख्य रूपमा बढ्ने देखाएको हो । जर्मनीको म्युनिख प्राविधिक विश्वविद्यालयका आन्द्रेयास क्राउससहित पाँच जना अनुसन्धानकर्ताले गरेको अध्ययनमा दुईवटा जलवायु नमुनाको प्रयोग गरिएको छ ।
अध्ययनले सन् १९९५–२०१४ को अवस्थालाई आधार मानेर भविष्यको अनुमान गरेको छ । उच्च उत्सर्जनको परिदृश्यमा एउटा जलवायु नमुनाले चट्याङ ७६ प्रतिशत र अर्कोले १३९.९ प्रतिशत बढ्ने देखाएको छ । अर्थात्, अहिलेको तुलनामा चट्याङको आवृत्ति डेढदेखि झन्डै साढे दुई गुणासम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।
अध्ययनअनुसार विश्वको औसत तापक्रम एक डिग्री सेल्सियस बढ्दा जमिनमा खस्ने चट्याङ करिब ३० प्रतिशत बढ्न सक्छ । यो अनुमान विगतको तापक्रम वृद्धिसँग देखिएको सम्बन्धभन्दा पनि निकै उच्च हो । अनुसन्धानकर्ताले विगतको करिब एक शताब्दीमा जमिनमा खस्ने चट्याङ १०.९ प्रतिशत बढेको अनुमान गरेका छन् ।
दुई जलवायु नमुनाले देखाएको फरक परिणाम
अध्ययनमा भविष्यको जलवायु अवस्था अनुमान गर्न दुईवटा विश्वव्यापी जलवायु नमुना प्रयोग गरिएको छ । तीमध्ये पहिलो नमुना ‘एमपीआई–ईएसएम१–२–एचआर’ ले सन् २०८१–२१०० सम्म चट्याङ ७६ प्रतिशत बढ्ने देखाएको छ । यस नमुनाअनुसार विश्वको औसत तापक्रम आधार अवधिको तुलनामा २.५७ डिग्री सेल्सियस बढ्ने अनुमान छ ।
दोस्रो नमुना ‘यूकेईएसएम१–०–एलएल’ ले तापक्रम ४.८३ डिग्री सेल्सियस बढ्ने र चट्याङको आवृत्ति १३९.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
अनुसन्धानकर्ताले दुवै नमुनामा उच्च उत्सर्जनको ‘एसएसपी३–७.०’ परिदृश्य प्रयोग गरेका छन् । यो भविष्यमा हरितगृह ग्यास उत्सर्जन उच्च रहने अवस्थालाई आधार मानेर तयार गरिएको उल्लेख गरिएको छ ।
उष्ण क्षेत्रमा चट्याङको कुल वृद्धि बढी
अध्ययनले भौगोलिक क्षेत्रअनुसार चट्याङको वृद्धिदर फरक हुने देखाएको छ । चट्याङको संख्यामा सबैभन्दा ठूलो वृद्धि उष्ण क्षेत्रमा हुने अनुमान गरिएको छ । विशेषगरी अमेजन क्षेत्र र समुद्री टापुहरू समेटिएको दक्षिणपूर्वी एसियाली क्षेत्रमा उल्लेख्य वृद्धि देखिएको छ ।
तर अहिले चट्याङ कम पर्ने उच्च अक्षांशका क्षेत्रमा प्रतिशतका आधारमा वृद्धि अझ धेरै हुन सक्छ । अध्ययनअनुसार सन् २१०० सम्म केही उच्च अक्षांशका क्षेत्रमा चट्याङको आवृत्ति १०० प्रतिशतभन्दा बढी र अर्को जलवायु नमुनाअनुसार २०० प्रतिशतभन्दा बढी बढ्न सक्छ ।
दक्षिण एसियाका केही क्षेत्रमा भविष्यको जलवायु अवस्था अध्ययनका लागि प्रयोग गरिएको आधार अवस्थाभन्दा निकै फरक हुन सक्ने देखिएकाले यहाँको अनुमानमा थप अनिश्चितता रहेको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।
कसरी गरिएको थियो अध्ययन ?
अनुसन्धानकर्ताले जमिनमा खस्ने चट्याङको अवस्था अनुमान गर्न कृत्रिम बुद्धिमत्तामा आधारित ‘एक्सट्रिम ग्रेडियन्ट बुस्टिङ’ अर्थात् एक्सजीबुस्ट विधि प्रयोग गरेका छन् । यसका लागि तापक्रम, वर्षा, घामबाट प्राप्त हुने छोटो तरङ्गको विकिरण, सापेक्षिक आर्द्रता, वायुदाब र हावाको गति गरी छ प्रकारका मौसमी डाटा समावेश गरिएको थियो ।
यी मौसमी डाटालाई जमिनमा आधारित चट्याङ पहिचान प्रणालीबाट प्राप्त विवरणसँग तुलना गरेर नमुना तयार गरिएको थियो । अध्ययनमा सन् २०१९ को चट्याङसम्बन्धी डाटा नमुना निर्माणका लागि प्रयोग गरिएको थियो भने सन् २०१५ देखि २०१८ सम्मको अर्को स्वतन्त्र डाटाबाट यसको परीक्षण गरिएको थियो ।
अध्ययनले एक्सजीबुस्ट विधिले चट्याङको भौगोलिक वितरण अनुमान गर्न अन्य तीन पुराना विधिभन्दा राम्रो नतिजा दिएको देखाएको छ । चट्याङको अनुमानमा तापक्रम सबैभन्दा महत्त्वपूर्ण कारक देखिएको छ भने वर्षा दोस्रो महत्त्वपूर्ण कारक बनेको छ ।
नेपालका लागि किन महत्त्वपूर्ण ?
नेपालका लागि अध्ययनका निष्कर्ष यहाँको मौसम तथा विपद् जोखिम व्यवस्थापनका लागि पनि महत्त्वपूर्ण हुन सक्ने देखिएको छ । तर यस अध्ययनले नेपालमा मात्रै चट्याङ कति प्रतिशत बढ्छ भन्ने छुट्टै अनुमान भने दिएको छैन । अध्ययनले दक्षिण एसियाका केही क्षेत्रमा भविष्यको जलवायु अवस्था नमुना तयार गर्दा प्रयोग गरिएको अवस्थाभन्दा फरक हुन सक्ने र त्यसैले प्रक्षेपणमा अनिश्चितता रहने स्पष्ट पारेको छ ।
अर्को महत्त्वपूर्ण पक्ष हिमालय क्षेत्रसँग सम्बन्धित छ । अनुसन्धानमा प्रयोग गरिएको चट्याङ पहिचान प्रणालीले हिमालयको छेउछाउका क्षेत्रमा अन्य केही क्षेत्रको तुलनामा कम चट्याङ अभिलेख गरेको देखिएको छ । यसको कारण वास्तविक चट्याङको संख्या कम हुनु मात्रै नभई पहिचान प्रणालीमा रहेका सीमितता पनि हुन सक्ने अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।
चट्याङले मानवीय जीवन, वनजङ्गल, विद्युत् संरचना, सञ्चार प्रणाली र अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याउन सक्छ । अध्ययनले जमिनमा खस्ने चट्याङको वृद्धि हुँदा वन डढेलोको जोखिम, विद्युत् प्रणालीको विश्वसनीयता र मानव सुरक्षामा समेत असर पर्न सक्ने औँल्याएको छ ।
अनुसन्धानकर्ताले आफ्नो अध्ययनमा केही सीमितता स्वीकार गरेका छन् । चट्याङको डाटा सीमित अवधिको हुनु, विभिन्न पहिचान प्रणालीको क्षमता फरक हुनु र भविष्यको जलवायु अवस्था अहिलेको भन्दा धेरै फरक हुन सक्नुले प्रक्षेपणमा अनिश्चितता थपेको छ ।
त्यस्तै, अध्ययनमा बादलभित्र हुने चट्याङ र बादलबाट बादलमा हुने विद्युतीय चमकलाई नभई विशेषगरी जमिनमा खस्ने चट्याङलाई मात्र समेटिएको छ । त्यसैले यसको नतिजालाई सबै प्रकारका चट्याङको वृद्धिदरका रूपमा बुझ्नु हुँदैन ।
अनुसन्धानकर्ताको मुख्य निष्कर्ष भने स्पष्ट छ—जलवायु परिवर्तनसँगै जमिनमा खस्ने चट्याङको जोखिम पहिले अनुमान गरिएभन्दा धेरै बढ्न सक्छ । त्यसैले भविष्यमा चट्याङबाट हुने मानवीय, आर्थिक र वातावरणीय क्षति न्यूनीकरण गर्न जोखिम मूल्याङ्कन तथा पूर्वतयारीलाई अहिलेबाटै प्राथमिकता दिनुपर्ने अध्ययनले औँल्याएको छ ।









