• २०८३ मङ्सिर १२ शनिबार

सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध

सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको संख्या ३३ लाख नाघेको छ । 

कोषले सार्वजनिक गरेको प्रगतिविवरणअनुसार औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी कुल ३३ लाख ४ हजार ८६ जना योगदानकर्ता सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् ।

कोषले नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा सार्वजनिक गरेको विवरणअनुसार हालसम्म विभिन्न योजनाअन्तर्गत एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई विभिन्न योजनामार्फत सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । कोषका अनुसार योगदानकर्ताको विश्वास, सरकारको सहयोग र कर्मचारीको सक्रियताका कारण आबद्धता विस्तार हुँदै गएको हो । हालसम्म औपचारिक क्षेत्रका ५ लाखभन्दा बढी, वैदेशिक रोजगारीमा रहेका श्रमिकसहित अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकसमेत कोषमा समेटिएका छन् ।

कोषले वृद्ध अवस्था सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, औषधोपचार, स्वास्थ्य तथा मातृत्वलगायतका योजनामार्फत सुविधा उपलब्ध गराउँदै आएको छ । यी योजनाअन्तर्गत हालसम्म २३ अर्ब ९० करोड ७५ लाख रुपैयाँ भुक्तानी भइसकेको कोषले जनाएको छ । कोषले सेवा विस्तारसँगै स्वास्थ्य उपचारलाई सहज बनाउन ११७ वटा स्वास्थ्य संस्थाको सञ्जाल विस्तार गर्ने जनाएको छ । योगदानकर्ताले नगदरहित उपचार सेवा पाउने व्यवस्था पनि अघि बढाइएको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन कोषको सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग आबद्ध गरी तथ्याङ्क आदानप्रदान सुरु गरिएको छ । कोषले आगामी दिनमा घरेलु कामदार, कृषक, ट्रेड युनियनमा आबद्ध श्रमिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने लक्ष्य राखेको छ । महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिने पनि जनाएको छ ।

सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधा दाबी र भुक्तानी प्रक्रियालाई थप सरल, छिटो र डिजिटल बनाउने, सेवा प्रवाह विस्तार गर्ने तथा कोषमा जम्मा भएको रकम सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा परिचालन गर्ने प्रतिबद्धता जनाएको छ । कोषले यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै