Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

बस्तीबाट हटाइएका सुकुम्वासीको बासस्थान टुंगो लाग्न नसक्नु बिडम्वनापूर्ण- डा. बाबुराम भट्टराई

बस्तीबाट हटाइएका सुकुम्वासीको बासस्थान टुंगो लाग्न नसक्नु बिडम्वनापूर्ण- डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्बासीको दिगो बसोबासको व्यवस्था हुन नसक्नु बिडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।

उनले महिनौँ बितिसक्दा पनि उनीहरूको स्थायी बसोबासको टुंगो लाग्न नसक्नु दुःखद भएको बताउदै सुकुम्बासी समस्यालाई आर्थिक, सामाजिक र मानवीय समस्याका रूपमा बुझेर समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

उनका अनुसार अल्पविकसित देशमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएपछि वैकल्पिक रोजगारीको खोजीमा सहर पस्ने श्रमिकहरू नै मुख्य रूपमा आवासविहीन बन्ने गरेका छन्। उनीहरूले सहरको सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा र ढुवानीलगायत क्षेत्रमा अत्यावश्यक श्रम प्रदान गर्दै अर्थतन्त्रमा योगदान पुर्‍याउने गरेको उनले उल्लेख गरेका छन् ।

भट्टराईले सुकुम्बासी समस्यालाई फोहोर उठाएर फ्याँकेजस्तो व्यवहार गरेर समाधान गर्न नसकिने बताएका छन् । यो सहरको विकास र सहरीकरणसँगै उत्पन्न हुने ऐतिहासिक प्रक्रिया भएको उनको भनाइ छ ।

उनले गरिब तथा आवासविहीन नागरिकलाई सहरभित्रै सम्मानजनक आवासको व्यवस्था गरेर समस्या दिगो रूपमा समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । संविधान र समावेशी लोकतन्त्रको मर्म पनि त्यही रहेको भट्टराईले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै