काठमाडौं । प्रसूति जटिलताका कारण जोखिममा परेकी जाजरकोटको नलगाड नगरपालिका–१२ की २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको हवाई उद्धार कार्यक्रममार्फत उनलाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो ।
मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
दुर्गम क्षेत्रका महिलालाई प्रसूति जटिलता देखिएको अवस्थामा समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएर मातृ तथा शिशु मृत्युदर घटाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।









