• २०८३ मङ्सिर १० बिहीबार

क्रिकेटको अनौठो नियम चर्चामा: खाली स्टम्पमा बल हानेर बलरले लिए विकेट

क्रिकेटको अनौठो नियम चर्चामा: खाली स्टम्पमा बल हानेर बलरले लिए विकेट

काठमाडौं । अस्ट्रेलियामा जारी महिला बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सकी ब्याटर डिएन्ड्रा डटिनले बुधबार अनौठो तरिकाले विकेट गुमाएकी छन् । ब्रिस्बेन हिटकी बलर सारा ग्लेनले खाली स्टम्पमा बल प्रहार गरेपछि डटिन बिना कुनै बलको सामना नगरी आउट भएकी हुन् ।

मेलबर्नले १३८ रनको लक्ष्य पछ्याइरहेको खेलमा १५औँ ओभरको पहिलो बलमा जर्जिया वेयरह्याम आउट भएपछि डटिन ब्याटिङका लागि आएकी थिइन् । तर उनी निर्धारित समयभित्र बल खेल्न तयार हुन सकिनन् । त्यसपछि अम्पायरले उनलाई क्रिजबाट कम्तीमा पाँच मिटर टाढा लेग साइडमा उभिन लगाए । ग्लेनले खाली स्टम्पमा बल प्रहार गरिन् र डटिन बोल्ड भइन् ।

महिला बिग ब्यास लिगको खेल सञ्चालनसम्बन्धी नियमअनुसार विकेट पतन भएपछि नयाँ ब्याटर ७५ सेकेन्डभित्र अर्को बल खेल्न वा अर्को ब्याटरका लागि तयार हुनुपर्ने नियम बनाएको छ । यसका लागि अम्पायरले समय गणना सुरु गर्छन् ।

निर्धारित समयमा ब्याटर तयार नभए उनलाई पहिलो बल खेल्नबाट रोक्दै क्रिजबाट कम्तीमा पाँच मिटर टाढा लेग साइडमा उभिन लगाइन्छ । त्यसपछि बलरले ब्याटरको अवरोधबिना खाली स्टम्पमा बल प्रहार गर्न पाउँछन् ।

बलरले खाली स्टम्पमा बल लाग्ने गरी प्रहार गरे ब्याटर बोल्ड आउट हुन्छन् । बल स्टम्पमा नलागे त्यसलाई डट बल मानिन्छ र कुनै रन दिइँदैन । यो प्रावधानले ब्याटरलाई निर्धारित समयमा तयार हुन दबाब दिन्छ र खेलमा अनावश्यक ढिलाइ रोक्ने उद्देश्य राखिएको छ ।  

यो नियम बिग ब्यास लिगमा सन् २०२१–२२ को सिजनदेखि लागू गरिएको हो । तर डटिनमाथि प्रयोग हुनुअघि महिला तथा पुरुष दुवै बिग ब्यास लिगमा यसरी विकेट लिइएको थिएन । सामान्य क्रिकेट नियममा भने नयाँ ब्याटर निर्धारित समयभित्र तयार नभए ‘टाइम्ड आउट’ हुन सक्ने व्यवस्था छ । त्यसैले बिग ब्यासको यो विशेष प्रावधान सामान्य नियमभन्दा फरक छ । 

डटिन शून्य रनमा आउट भए पनि मेलबर्न रेनेगेड्सले अन्तिम बलमा लक्ष्य पूरा गर्दै तीन विकेटको जित निकालेको थियो । खेलपछि टोलीकी कप्तान सोफी मोलिन्युले क्रिकेटमा यस्तो घटना आफूले पहिलोपटक देखेको बताउँदै ग्लेनको बलिङको प्रशंसा गरेकी थिइन् । उनले डटिनलाई ब्याटिङका लागि पठाउने निर्णय गर्न आफ्नो टोलीले ढिलाइ गरेको पनि स्वीकार गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै