• २०८३ मङ्सिर १० बिहीबार

अन्तरिक्षमै डाटा सेन्टर निर्माण गर्न स्पेसएक्सले पायो अनुमति

अन्तरिक्षमै डाटा सेन्टर निर्माण गर्न स्पेसएक्सले पायो अनुमति

काठमाडौं । अमेरिकी नियामक निकायले अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाखसम्म उपग्रह प्रक्षेपण गर्ने योजनाका लागि अनुमति दिएको छ ।

अन्तरिक्षमै डाटा सेन्टर  निर्माण गर्ने उद्देश्यसहित अघि सारिएको यो योजनालाई अमेरिकी संघीय सञ्चार आयोगले पहिलोपटक स्वीकृति दिएको हो ।

स्पेसएक्सले ‘स्टारमाइन्ड’ नाम दिएको यस परियोजनाअन्तर्गत सूर्यको प्रकाशबाट ऊर्जा प्राप्त गर्ने उपग्रहहरू अन्तरिक्षमा स्थापना गरिनेछन् । ती उपग्रहले कृत्रिम बुद्धिमत्तासम्बन्धी डाटा प्रशोधन गर्ने र त्यसबाट प्राप्त नतिजा पृथ्वीमा पठाउने काम गर्नेछन् ।

अमेरिकी संघीय सञ्चार आयोगले परियोजनालाई अनुमति दिँदै यसले अमेरिकाको तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता र उच्च क्षमताको कम्प्युटिङ क्षेत्रलाई सहयोग पुर्‍याउने जनाएको छ । आयोगका अध्यक्ष ब्रेन्डन कारले यस परियोजनालाई अमेरिकाको अन्तरिक्ष तथा अत्याधुनिक प्रविधिसम्बन्धी नेतृत्व विस्तार गर्ने नयाँ अवसरका रूपमा व्याख्या गरेका छन् ।

आयोगको स्वीकृतिअनुसार स्पेसएक्सले सन् २०३३ नोभेम्बरसम्म उपग्रह प्रक्षेपण सुरु गरिसक्नुपर्नेछ । सन् २०३५ नोभेम्बरसम्म स्वीकृत उपग्रहको १० प्रतिशत र सन् २०३८ नोभेम्बरसम्म ५० प्रतिशत प्रक्षेपण गरिसक्नुपर्ने सर्त राखिएको छ । कम्पनीले भने आगामी वर्ष नै पहिलो स्टारमाइन्ड उपग्रह प्रक्षेपण गर्ने लक्ष्य सार्वजनिक गरिसकेको छ ।

यी उपग्रहहरू पृथ्वीबाट ५०० देखि २ हजार किलोमिटर उचाइमा रहनेछन् । स्पेसएक्सको हाल सञ्चालनमा रहेको स्टारलिङ्क सञ्जालसँग जोडिएर तिनले डाटा आदानप्रदान गर्नेछन् । स्टारलिङ्कले हाल १० हजारभन्दा बढी उपग्रहमार्फत विश्वका विभिन्न क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने अवधारणालाई गुगल र ब्लु ओरिजिनजस्ता कम्पनीले पनि अध्ययन गरिरहेका छन् । पृथ्वीमा निर्माण गरिने डाटा सेन्टर सञ्चालन गर्न ठूलो मात्रामा विद्युत् र उपकरण चिस्याउन पानी आवश्यक पर्ने भएकाले अन्तरिक्षमा सौर्य ऊर्जाबाट सञ्चालन हुने केन्द्रलाई वैकल्पिक उपायका रूपमा हेरिएको छ ।

पछिल्लो समय कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढेसँगै डाटा प्रशोधन र भण्डारणको माग पनि उल्लेख्य रूपमा बढेको छ । तर, पृथ्वीमा ठूला डाटा सेन्टर निर्माण गर्दा विद्युत् र पानीको अत्यधिक खपत हुने, वातावरणमा असर पर्ने तथा स्थानीय समुदायको विरोध सामना गर्नुपर्ने अवस्था छ । अमेरिकाका विभिन्न क्षेत्रमा यस्ता केन्द्र निर्माणको विरोध भइरहेको छ ।

यद्यपि अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्नु चुनौतीरहित भने छैन । विज्ञहरूका अनुसार उपग्रह र अन्य उपकरण अन्तरिक्षमा पठाउन अझै ठूलो खर्च लाग्छ । त्यहाँ उपकरणको तापक्रम नियन्त्रण, सुरक्षा र ऊर्जा व्यवस्थापन पनि जटिल विषय हुन् । त्यसैगरी अन्तरिक्षमा बढिरहेको फोहोरका कारण उपग्रहहरू एकआपसमा ठोक्किने जोखिमसमेत बढेको छ ।

स्पेसएक्सको स्टारलिङ्क सञ्जालले पृथ्वीको तल्लो कक्षमा अत्यधिक उपग्रह थपेर अन्तरिक्षमा भीड बढाएको आरोप लाग्दै आएको छ । तर, मस्कले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन् ।

अन्तरिक्षमा १० लाखसम्म उपग्रह राख्ने अनुमति पाए पनि स्पेसएक्सले वास्तवमै त्यति नै सङ्ख्यामा उपग्रह प्रक्षेपण गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै