काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतसहित सात प्रमुख अर्थतन्त्रका वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त आयात शुल्क लगाउने प्रस्ताव अघि सारेको छ ।
औद्योगिक उत्पादन क्षमता र उत्पादनमा केन्द्रित अमेरिकी अनुसन्धानपछि यस्तो प्रस्ताव ल्याइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रस्तावित शुल्कको सूचीमा भारत, दक्षिण कोरिया, ताइवान, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र कम्बोडिया छन् । अमेरिकाले यी देशले बजारको मागभन्दा बढी उत्पादन क्षमता विस्तार गरेको आरोप लगाएको छ ।
अमेरिकाले भारत, चीन, युरोपेली संघ, जापान, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड र भियतनाम गरी १४ अर्थतन्त्रको औद्योगिक उत्पादनबारे अनुसन्धान गरेको छ । यसै क्रममा चीनमाथि २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरिएको छ ।
यसैगरी, अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले ब्राजिलका विमानसहित केही उत्पादनमा पनि अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ ।
प्रस्तावित शुल्क तत्काल लागू हुने छैनन्। त्यसअघि सार्वजनिक परामर्श प्रक्रिया पूरा गर्नुपर्नेछ । यो प्रस्ताव डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनअघि सार्वजनिक भएको हो ।









