काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाको एक गरी तीन समितिको बैठक आज बुधबार बस्दैछन् ।
बैठकमा नागरिक लगानी कोष र बालश्रमसम्बन्धी विधेयकमाथि छलफल हुनुका साथै समितिको स्थलगत अनुगमन प्रतिवेदनबारे समीक्षा हुनेछ ।
प्रतिनिधिसभाको अर्थ समितिको बैठक बिहान ११: ३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गर्ने र विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्रीसहित अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।
त्यस्तै, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीसहित सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।
राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको स्थलगत अनुगमन प्रतिवेदनसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।









