काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया र मूल्याङ्कनका आधार सच्याउनुपर्ने देखिएकाले कानुनी जटिलता रोक्न ठेक्का रद्द गरिएको स्पष्ट पारे ।
समिति सदस्यहरूले आयोजना अलपत्र पार्न नहुने भन्दै ठेक्का रद्द गर्नुको कारण स्पष्ट पार्न माग गरेका थिए । मध्यतराईमा सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाको बाँध तथा विद्युत् गृह निर्माणको ठेक्का रद्द भएपछि समितिमा उजुरी परेको थियो ।









