• २०८३ मङ्सिर ६ आइतबार

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका छन् ।

आइतबार दिल्ली पुगेका प्रधानमन्त्री शाहले आज भ्रमणका महत्वपूर्ण कार्यक्रममा भाग लिने तालिका रहेको छ । 

प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा पुगेका शाहको आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता भएको थियो ।

यस्तै, आज नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ ।    

भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति  द्रौपदी मुर्मू, भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय वार्ता गर्ने छन् भने आजै  हैदराबाद हाउसमै दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुने कार्यसूची रहेको छ । साथै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट श्रव्यदृश्य माध्यममार्फत रेलसेवाको उद्घाटन गर्नेछन् ।

त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत सहभागी छन् । साथै निजी क्षेत्रबाट ५२ जनाको टिम आफ्नै खर्चमा प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री भ्रमण सम्पन्न गरी आजै साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने तालिका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै