• २०८३ मङ्सिर ६ आइतबार

परीक्षा चिटिङ प्रकरणपछि दक्षिण कोरियाका शिक्षामन्त्रीले दिए राजीनामा

परीक्षा चिटिङ प्रकरणपछि दक्षिण कोरियाका शिक्षामन्त्रीले दिए राजीनामा

काठमाडौँ । दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो जिनले विश्वविद्यालय प्रवेश परीक्षामा चिटिङ रोक्ने क्रममा भएको अव्यवस्थाको जिम्मेवारी लिँदै राजीनामा दिएका छन् ।

कृत्रिम बौद्धिकताको प्रयोग गरेर परीक्षा अनियमितता गर्ने घटना सार्वजनिक भएपछि सरकारले परीक्षा केन्द्रमा निगरानी कडा बनाएको थियो । गत बिहीबार सम्पन्न वार्षिक विश्वविद्यालय प्रवेश परीक्षा ‘सुनेउङ’का क्रममा १११ जना परीक्षार्थी अनधिकृत विद्युतीय उपकरणसहित फेला परेका थिए । उक्त परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी थिए ।

यसअघि राष्ट्रिय कर लेखा परीक्षा शीर्ष स्थानमा उत्तीर्ण भएका हान वोन सोकले सूक्ष्म क्यामेरा, मोबाइल फोन र कृत्रिम बौद्धिकताको प्रयोग गरी प्रश्नपत्रका उत्तर जाँचेर अनियमितता गरेको स्वीकार गरेका थिए । उनले क्यामेराबाट प्रश्न खिचेर कृत्रिम बौद्धिकतामा पठाउने र मोबाइलमार्फत उत्तर जाँच्ने गरेको बताएका थिए ।

उक्त घटनापछि सरकारले परीक्षा दिनुअघि नै आकस्मिक सुरक्षा व्यवस्था लागू गरेको थियो। परीक्षाका दिन बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म देशभर तीन पटक आकस्मिक सूचना जारी गरिएको थियो । मोबाइल मौन अवस्थामा रहे पनि ती सूचना प्राप्त हुँदा आवाज बज्ने व्यवस्था गरिएको थियो ।

परीक्षार्थीलाई कपडा र चस्मामा लुकाइएका क्यामेरा तथा अन्य उपकरणको जाँचसमेत गरिएको थियो । यसले इमानदारीपूर्वक परीक्षा दिने विद्यार्थीसमेत शंकाको घेरामा पर्ने अवस्था सिर्जना भएको थियो ।

शिक्षामन्त्री चोइले पूर्वतयारी गर्न नसकेको भन्दै जिम्मेवारी स्वीकार गरेका थिए । उनको राजीनामा राष्ट्रपति ली जे म्युङले स्वीकृत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै