• २०८३ मङ्सिर ५ शनिबार

हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

काठमाडौं । विद्यालयमा मोबाइल फोन प्रयोगमा कडाइ गर्दा विद्यार्थीको शैक्षिक प्रदर्शनमा सुधार आउने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयअन्तर्गत शिक्षा नीति अनुसन्धान केन्द्रले गरेको अध्ययनअनुसार विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाइएका स्थानमा गणित र पठनपाठनसम्बन्धी परीक्षाको नतिजा सुधार भएको पाइएको हो ।

सन् २०२१ देखि २०२६ सम्म अमेरिकाका ४६ राज्यका करिब ४ हजार ६ सय विद्यालयका कक्षा ३ देखि १० सम्मका ३३ लाख विद्यार्थीमा गरिएको अध्ययनमा यस्तो निष्कर्ष निकालिएको हो । विद्यालय समयभर विद्यार्थीका मोबाइल फोन विशेष झोलामा बन्द गरेर राखिएका विद्यालयमा शैक्षिक उपलब्धिमा सकारात्मक परिवर्तन देखिएको थियो ।

अध्ययनअनुसार मोबाइल प्रयोगमा कडाइ गर्दा विद्यार्थीले एक शैक्षिक वर्षमा थप एकदेखि दुई सातासम्म पढाइ गरेको बराबरको उपलब्धि हासिल गरेका छन् । यसले सन् २०१० को दशकको मध्यदेखि देखिँदै आएको शैक्षिक उपलब्धिको वार्षिक गिरावटबाट हुने क्षतिको करिब आधा पूर्ति गरेको अध्ययनले देखाएको छ ।

मोबाइलबाट टाढा रहँदा विशेषगरी पठनपाठनमा विद्यार्थीको एकाग्रता बढेको र पढाइमा कमजोर हुने दर घटेको पाइएको छ । यसको फाइदा पढाइमा कमजोर विद्यार्थीमा मात्र नभई औसत र राम्रो नतिजा ल्याउने विद्यार्थीमा समेत देखिएको छ ।

अध्ययनले विद्यालयमा मोबाइलको प्रयोग नियन्त्रण गर्दा विद्यार्थीको ध्यान पढाइमा केन्द्रित गर्न र शैक्षिक नतिजा सुधार गर्न सहयोग पुग्ने निष्कर्ष निकालेको छ । सन् २०१८ सम्ममा अमेरिकाका अधिकांश किशोरकिशोरीको पहुँचमा मोबाइल फोन पुगिसकेको अवस्थामा हाल ४६ राज्यका विद्यालयमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै