काठमाडौँ । इंग्ल्यान्डका कप्तान ह्यारी केन घुँडामुनिको बायाँ गोलीगाँठोको नसा च्यातिएपछि केही महिना मैदानबाहिर रहने भएका छन् ।
गएराती जर्मन बुन्डेसलिगाअन्तर्गत कोलोनविरुद्ध बायर्न म्युनिखले १–१ को बराबरी खेलेको खेलमा केन २०औँ मिनेटमा घाइते भएका थिए । विपक्षी खेलाडी जोएल स्मिडसँगको ठक्करपछि चोटग्रस्त भएका उनलाई मैदानबाट बाहिर निकालिएको थियो ।
बायर्न म्युनिखले केनको बायाँ गोलीगाँठोको नसा च्यातिएको पुष्टि गर्दै उनी केही महिना मैदानबाहिर रहने जनाएको छ । ३३ वर्षीय केनले यस सिजन बुन्डेसलिगाका १० खेलमा चार गोल र आठ गोलका लागि सहयोग गरेका छन् । त्यस्तै, च्याम्पियन्स लिगका चार खेलमा चार गोल गरेका छन् ।
केनको चोटले इंग्ल्यान्डलाई पनि चिन्तित बनाएको छ । आगामी मार्च २७ र ३० मा हुने युरोपेली राष्ट्र लिगको क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेसँग खेल्ने तालिका छ । उक्त खेलमा केनको सहभागिता अनिश्चित बनेको छ ।
यसअघि पनि केनले गोलीगाँठोको चोटका कारण लामो समय मैदानबाहिर बस्नुपरेको थियो । सन् २०२३ मा टोटनह्यामबाट बायर्न पुगेयता भने उनको खेल जीवनमा चोटको समस्या तुलनात्मक रूपमा कम देखिएको थियो ।









