• २०८३ मङ्सिर ५ शनिबार

रोनाल्डोको गोलका बाबजुद अल नासर पराजित

रोनाल्डोको गोलका बाबजुद अल नासर पराजित

काठमाडौँ । साउदी प्रो लिगअन्तर्गत गएराति भएको प्रतिस्पर्धात्मक खेलमा अल नासर अल अहलीसँग ३–१ गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा अल अहलीले उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

खेलको १४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाएका थिए । यस गोलसँगै रोनाल्डोको व्यावसायिक फुटबलमा कुल गोल संख्या ९८६ पुगेको छ । तर, १८औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने उनको प्रयास सफल हुन सकेन । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

पहिलो हाफको अन्त्यतिर अल अहलीले खेलमा फर्कने अवसर पायो । गालेनोले ४५औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए । दोस्रो हाफमा अल अहलीले थप आक्रामक खेल प्रदर्शन गर्‍यो । ७१औँ मिनेटमा इभान टोनीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । त्यसको चार मिनेटपछि रोजर इबानेजले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै अल अहलीको जित ३–१ ले सुनिश्चित गरे ।

यस हारसँगै अल नासर २८ अंकमा सीमित भएको छ । टोली शीर्ष स्थानको अल हिलालभन्दा दुई अंकले पछाडि छ । यता जितपछि अल अहली २४ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै