• २०८३ मङ्सिर ४ शुक्रबार

बंगलादेशमा हिंसा चर्कियो, विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

बंगलादेशमा हिंसा चर्कियो, विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

काठमाडौं । बंगलादेशमा राजनीतिक तनाव बढ्दै जाँदा विदेश राज्यमन्त्री हुमायुँ कबिरको घरमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ । यसअघि बिहीबार प्रदर्शनकारीले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको घरमा पनि आगो लगाएका थिए ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने तयारी र उनको दल अवामी लिगले गरेको देशव्यापी बन्द आह्वानपछि बंगलादेशका विभिन्न जिल्लामा आगजनी, तोडफोड र आक्रमणका घटना भएका छन् । प्रधानमन्त्री तारिक रहमानले हिंसात्मक गतिविधिका लागि अवामी लिग र हसिनालाई जिम्मेवार ठहर गरेका छन् ।

हिंसाका क्रममा गोपालगञ्जमा बंगलादेश नेसनलिस्ट पार्टीका दुई सांसदका घरमा तोडफोड र आगजनी गरिएको छ । कम्तीमा ६ वटा बस तथा पिकअप गाडी जलाइएको छ भने रेलमार्गको केही भागमा पनि क्षति पुर्‍याइएको छ ।

सरकारले सुरक्षा व्यवस्था कडा बनाउँदै सात जिल्लामा सीमा सुरक्षा बलका ९७ टोली परिचालन गरेको बताएको छ । प्रहरीले ढाकामा अवामी लिगसँग सम्बन्धित रहेको आशंकामा २४ घण्टाभित्र पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित १०७ जनालाई पक्राउ गरेको छ ।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गरेपछि राजनीतिक तनाव थप बढेको हो । हसिना सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । उनको बंगलादेश फिर्ती बारे भारतसँग कुटनीतिक विवाद भने कायम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै