काठमाडौँ । बाराको सुवर्ण गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मझरियामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्ति लिएका थिए ।
नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकका रूपमा कार्यरत रही पद, ओहदा तथा विभिन्न सुविधा प्राप्त गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।
यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कैद र जरिवाना सजायको मागदाबीसहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।









