काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको ऊर्जा एक्सचेन्जमा थप ६१५.३४ मेगावाट विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।
यसमध्ये मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गतका आयोजनाबाट उत्पादित ५९४ मेगावाट र सेती खोला जलविद्युत् आयोजनाको २१.३४ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति प्राप्त भएको हो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड तथा रियल टाइम बजारमा बिक्री गर्न अनुमति दिएको हो । उक्त विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि २०२७ जुन १४ सम्म बिक्री गर्न सकिनेछ ।
अनुमतिप्राप्त विद्युत्मध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत निर्यात गरिनेछ । यो विद्युत् नेपाल विद्युत् प्राधिकरण र भारतका एनभीभीएन तथा पीटीसीबीच भएको मध्यकालीन बिक्री सम्झौताअन्तर्गतका आयोजनाबाट उत्पादन हुनेछ ।
त्यस्तै, सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् पनि नोभेम्बर १८ देखि सन् २०२७ अगस्ट ३१ सम्म भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति प्राप्त भएको छ ।
यससँगै भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृत कुल परिमाण ११९८ मेगावाट पुगेको छ । प्राधिकरणले आगामी हिउँदयाममा विद्युत् माग व्यवस्थापनका लागि भारतबाट १००४ मेगावाट विद्युत् आयात गर्नसमेत अनुमति पाइसकेको जनाएको छ ।









