काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो २०३ ग्राम ७६ मिलिग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार चीनको जिलिन स्थायी ठेगाना भएका ४८ वर्षीय जियानहुआ वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उक्त सुन फेला परेको हो । उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका थिए ।
जाँचका क्रममा उनले प्लास्टिकमा बेरिएको सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ चारवटा आफ्नो मलद्वारभित्र लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ। उक्त पदार्थ भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा बरामद गरिएको हो ।
पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।









